
त्रिशूली । विदुर–५ मा रहेको 'पिपलटार फुटबल क्लव'को आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सव आयोजना गरिएको छ ।
यही माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सव आयोजना गरिएको हो । यसका लागी स्थानीय सरोकारवालाहरुको भेलाले वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एकसय ५० सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
महोत्सवमा प्रतियोगितात्मक खेल गतिबिधिहरु, प्रतियोगितात्मक लोक नृत्य , स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी, चर्चित कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक खेल मेलाहरु समेटिएको आयोजक क्लवका अध्यक्ष उद्धब पनेरुले जानकारी दिनुभयो ।
उहाँको अनुसार ११ दिनसम्म चल्ने महोत्सव करिब ७० हजारले अवलोकन गर्ने र महोत्सव अवधिभर दुई करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
यसअघि नुवाकोट महोत्सव भएको स्थान नजिकै गर्न लागिएको महोत्सव भव्य र सभ्य रुपमा सफल बनाउनको लागी आयोजकले नुवाकोटको सरोकारवाला सबैसंग क्रमश छलफल गर्दै अघि बढ्ने जनाएको छ ।