गोरु जुधाई : सँस्कृतिको रक्षा गर्दै पर्यटन प्रर्बद्धनमा योगदान

माघ १, २०८१ मा प्रकाशित | 486 views


त्रिशूली, नुवाकोट । माघे सक्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, वेत्रावती लगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको छ ।
माघे सक्रान्तिका दिन विभिन्न ईतिहाससंग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यसवर्ष नुवाकोटको तारुकामा १३ हल, वेत्रावतीमा ११ हल सहित जिल्लाको विभिन्न स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको हो ।

नुवाकोटको तारकेश्वर गाँउपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जधाई प्रदर्शनीको बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेससभा सदस्य रमेशकुमार महत सहितले अवलोकन गर्नुभयो । यसअघि दर्ता भएर जुधाउन चौध हल तयारी अबस्थामा राखेको भएपनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसगैँ १३ हल गोरु जुधाइएको हो ।

गोरु जुधाईको अवलोकन पश्चात मुख्यमन्त्री तामाङले गोरु जुधाईलाई पशु अधिकारको रक्षा गर्दै सँस्कृतिको जगेर्ना मार्फत पर्यटन प्रबद्र्धन एवम् खेलकुदको एक बिधाको रुपमा व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसका लागी उहाँले विषयगत मन्त्रालयसंगको सहकार्यमा सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

गोरु जुधाई प्रदर्शनीमा बिजेता र उपबिजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहन स्वरुप नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुती, जुधाईको कलाकौशल, संलग्न गराएका र बिजेता भएका सबै गोरुका धनीलाई भिन्न भिन्न बिधामा सम्मान गरिएको माघेसक्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो ।

माघे सक्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीमा एघार हल गोरु जुधाईएको छ । किसानले पालन गरेका मध्येबाट छनोटका आधारमा यसअघि दर्ता भएर तयारीमा राखेका गोरुलाई एक–अर्कासंग जुधाई प्रदर्शनी गरिएको गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले जानकारी दिनुभयो ।

वेत्रावतीमा अघिलो दिन सोमबारदेखि नै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मंगलबार गोरु जुधाई प्रदर्शनी सहितको विभिन्न मनोरञ्जन गर्दै माघेसक्रान्तिम पर्व मनाइएको हो । गोरु जुधाई प्रदर्शनीको अवलोकन गर्न आयोजित कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, सस्कृति र ईतिहाससंग जोडिएको गोरु जुधाई परम्पराको एकीन तथ्यका आधारमा यसको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोग सहित सहआयोजकको रुपमा गोरु जुधाई सञ्चालन गर्दै आएकाले आगामी दिनमा थप सहयोगका लागी बार्षिक नीति तथा कार्यक्रममा समावेश गराउन लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

माघे सक्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाँउपालिका–३ सूर्यमती, पञ्चकन्या गाँउपालिका–३ पिपलडाँडा र नुवाकोटसंग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानहरुले सक्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

किसानले पालेका गोरुलाई एक अर्कोसंग अर्थात ‘वान भर्सेस वान’को आधारमा नछुट्टिएसम्म जुधाइने हुदाँ त्यसको अवलोकनका लागी हजारौँको सङ्ख्यामा स्वेदश तथा विदेशी पर्यटक नुवाकोट भित्रिएका थिए । गोरु जुधाई प्रदर्शनीको सुरुवात विभिन्न ईतिहाससंग जोडेर उल्लेख गरेपनि त्यसको कहीँकतै एकीन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाँउठाँउमा यस परम्पराको थालनी भएको पाइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web