
काठमाडौँ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वको चाँगुनारायण नगरपालिकाले आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता सुरु भएको छ ।
वडा नं. ९ ताथलीमा नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गरि ताथलीको ताथली फाँटमा धिमे प्रतियोगिता आयोजना गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो ।
नगरपालिकामा रहेका मूर्त– अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउन तथा नगरपालिकाले गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि धिमे बाजा प्रतियोगिता गरिएको उहाँले बताउनुभयो ।
नगरकोट भ्रमण वर्षको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताले नगरकोट भ्रमण वर्षको प्रचारप्रसार गर्न पनि सहयोग पुग्ने उहाँको भनाई छ ।
सो प्रतियोगितामा विजेता टोलीलाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई २५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या, तृतीय हुनेलाई नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्रदान गरिनेछ ।
यस्तै सान्त्वनालाई नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थान, उत्कृष्ट छैटौँदेखि १० औँ स्थानसम्मका लागि भुछ्या १–१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आकर्षकको रुपमा राखिएको नगरपालिकाका नगर प्रवक्ता जनक खत्रीले बताउनुभयो ।
प्रतियोगिताको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ । प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकाबाट गरी ५५ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको आज एक समारोहबीच प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभएको हो ।