
-रामहरि न्यौपाने
घ्याङस्वारा, पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
नुवाकोट जिल्लाको मध्येबिन्दु एवम् संघीय राजधानी काठमाडौबाट ३६ किलोमिटरको दुरीमा रहेको घ्याङस्वारा दुईहजार दुईसय मिटर उचाईमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागी अहिले हिउदयामको समयमा पर्यटकको आवागमन निकै बढेको हो ।
उक्त स्थानमा अहिले दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको आवागमन भइरहेको गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिनुभयो । उहाँको अनुसार पञ्चकन्या गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बुट्यान–झाडी हटाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा आवश्यक संरचना निर्माणको काम जारी राख्दै आएको छ ।

“पर्यटक अलमल्याउन आवश्यक संरचना सहित भूमेदेवी मन्दिर व्यवस्थापन, खेल मैदान, घरबाँस (होमस्टे) निर्माण गरेसगैँ नुवाकोट सहित आसपासबाट बनभोज, घुमफिर एवम् विभिन्न औपचारिक कार्यक्रममा आउने पर्यटकको सङ्ख्या दैनिक एक हजार हाराहारीमा आइरहेका छन् ।” अध्यक्ष तामाङले भन्नुभयो “स्थानीय कृषि उपजको उपभोग, खरिद–बिक्री सहित आर्थिक गतिविधि चलायमान बनेको छ ।”
प्रधानमन्त्री रोजगार कार्यक्रम सहित उक्त स्थानमा गाँउपालिकाले सशस्त्र द्धन्द्धको क्रममा ज्यान गुमाएका शहीदको शालिक सहित पार्क निर्माण र पालिकाबासीको श्रमदानबाट चियाका बिरुवा समेत रोपण गरेको छ । भ्यालीको रुपमा रहेको उक्त स्थानमा हरियाली चियाबगान, पानी, बत्ति, शौचालय, निःशुल्क इन्टरनेट, फोटो भिडियो बनाउन चाहनेलाई ठाँउठाँउमा तयार गरिएका ‘सेल्फी प्वाइन्ट’ले घ्याङस्वारा पुग्नेको मन लोभ्याउने स्थानीय पुरुषोत्तम खड्काले बताउनुभयो ।
छोटो अवधि (पछिल्लो पाच वर्ष)मा नुवाकोटको उत्कृष्ट गन्तव्यको रुपमा पर्यटकको रोजाईमा परेको छ । “घ्याङस्वाराको प्रचारप्रसार असाध्यै बढेको छ । खुला स्थानको खोजीमा काठमाडौबाट नजिकै पर्ने भएकाले यहाँ आउनेलाई खाजा–खानालाई चाहिने कृषि उब्जनी बिक्री तथा घरबाँस र होटल सञ्चालनबाट राम्रो आम्दानी गर्न थालिएको छ ।” खड्काले भन्नुभयो ।
गाँउपालिकाले सरकारी घरबाँस (होमस्टे)को निर्माण गरेको छ । निजी क्षेत्रबाट पनि आकर्षक होटल तथा रेष्टुरेन्ट र घरबाँसको निर्माण भइरहेका छन् । गाँउपालिकाले घरबाँस सञ्चालन र पूर्वाधार निर्माणमा सहजिकरण गर्दै आएको छ । स्थानीयलाई आर्थिक उपार्जनमा केन्द्रित गराउन यसबाट टेवा पुगेको छ ।
एकसय पचास रोपनी क्षेत्रफलमा फैलिएको घ्याङस्वाराको उचाई एक हजार सात सयदेखि दुईहजार दुईसय मिटरसम्म खुला भ्यालीको रुपमा अवस्थित छ । उच्च स्थानमा रहेको भूमेस्थान गणेश मन्दिर पुग्ने पदमार्ग चियाबगानको मध्येबिन्दुबाट बनाइएको हुदाँ घुमफिर सहित हिन्दू र बौद्धमार्गीको तिर्थाटनको रुपमा महत्व बढेको छ ।
पञ्चकन्या गाँउपालिकाको केन्द्र लाकुरीभञ्याङसम्म कालोपत्र सहितको व्यवस्थित सडक भएपनि करीब पाच किलोमिटर ग्रामीण सडक भएकाले उक्त स्थानमा व्यवस्थित सडक सहित थप पूर्वाधार निर्माणका लागी गाँउपालिकाले माथिल्लो सरकारसंग सहयोगको अपेक्षा गरेको छ । सोही अनसार निर्माणाधीन खेल मैदानलाई बहुउद्देष्य रङ्गशाला बनाउने परिकल्पना सहित पूर्वाधार निर्माणमा सोही स्थानबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य भएका नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चासो देखाउनुभएको छ ।
पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै आएको घ्याङस्वारामा गाँउपालिकाले बनाएका संरचना र परिकल्पनालाई थप पूर्वाधार निर्माण सहित व्यवस्थित सडक, भूमेस्थान मन्दिरको जगेर्ना एवम् खेलमैदानलाई बहुउद्देष्य रङ्गशाला निमार्णमा आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नुवाकोट र यस आसपास जिल्लाका हिमश्रृङ्खला अवलोकन सहित मनोरम वातावरणमा रमाउन सकिने भएकाले यस स्थान थप व्यवस्थित बनाउने परिकल्पकना गरिएको नेता महतको भनाई छ । त्यसका लागी आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराउने उहाँले आश्वासन दिनुभयो ।
“सबैभन्दा उच्च स्थान (दुई हजार दुईसय मिटर)को थाप्लोमा रहेको भूमेस्थान गणेश मन्दिर, निर्माणाधीन खेल मैदान, उक्त स्थान पुग्नलाई बाँकी रहेको सडक कालोपत्र र सोही ठाँउबाट दुप्चेश्वरको गोल्फूभञ्याङहुदै सिन्धुपाल्चोकलाई जोडेर सडक निर्माण मार्फत पर्यटकीय सडक मार्ग निर्माणको सोच लिएको छौ ।” उहाँले भन्नुभयो “यस भूमिको काखमा म हुर्किएको हुँ । यसका लागी पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रबाट बहुशीर्षकमा बजेटको सुनिश्चित गर्नेछौ ।”
घ्याङस्वाराको महत्व बारेमा जानकारी दिदै स्थानीय बलराम कार्की :
पर्यटन प्रबद्धनको लागी नुवाकोटमा ककनी, सूर्याचौर, शिवपुरी निकुञ्ज पश्चात घ्याङस्वाराबाट पनि लाभ लिन थालिएको छ ।
16.64¡ÆC