अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का

पुस १५, २०८१ मा प्रकाशित | 265 views


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का भएको छ ।

उमेर हद लागू गर्ने कि नगर्ने भन्ने छिनोफानो गर्न भएको आन्तरिक चुनावमा उमेर हद लागू गर्ने पक्षमा बहुमत आएको छ । उमेर हद लागू गर्नुपर्ने पक्षधरले खुला पक्षधरलाई २१ मतले पराजित गरेको हो । ३२ वर्ष उमेरहद लागू गर्नुपर्छ भन्ने पक्षमा ९ सय मत र विपक्षमा ८ सय ७९ मत आएको छ ।

उमेर हद लागू हुने पक्का भएपछि अखिल (क्रान्तिकारी) को निवर्तमान कार्यसमितिका ७० प्रतिशतभन्दा धेरै पदाधिकारी बिदा हुने भएका छन् । यो प्रावधान केन्द्र, प्रदेश र जिल्ला तहका कमिटीमा पनि लागू हुनेछ । क्याम्पसका इकाइमा यसअघि नै उमेरहद लागू भइसकेको छ ।

यसअघि अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका लगभग सबैजसो नेता अयोग्य हुने भएका छन् । २२औं सम्मेलनबाट निर्वाचित १७ जना उपाध्यक्ष– इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिने पक्का भएको छ ।

अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि आउँदो माघ ५ गतेदेखि चुनावी प्रक्रिया शुरू हुँदैछ । गएको असोज १० देखि १५ गतेसम्म भएको २३औं राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web