नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भव्य रूपमा मनाएको छ । विद्यालयको ५० वर्षे इतिहास र उपलब्धिलाई स्मरण गर्दै, विभिन्न सरोकारवालाले विद्यालयको शैक्षिक सुधार र भविष्यका योजनाहरूमा जोड दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक सुर्दशन खतिवडाले विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउन सक्षम बनाएकोमा गर्व गर्दै, यसलाई नगरपालिकाको सर्वोत्कृष्ट विद्यालय बनाउन प्रतिबद्ध रहेको बताए । “हामीले आउने दुई वर्षभित्र यस विद्यालयलाई काठमाडौँका टप विद्यालयभन्दा उत्कृष्ट बनाउने लक्ष्य राखेका छौँ,” उनले भने ।
सह प्रधानाध्यापक दिनेश कुमार सिग्देलले विद्यालयको लामो संघर्ष र उपलब्धिको चर्चा गर्दै आगामी दिनमा थप व्यवस्थित शिक्षा प्रदान गर्ने लक्ष्य व्यक्त गरे। “विद्यालयले विगतका चुनौती र संकटलाई पार गर्दै आज यो अवस्थामा आइपुगेको छ,” उनले भने। उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न अभिभावक, शिक्षक, र समुदायको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
त्यस्तै भूतपूर्व विद्यार्थीका अध्यक्ष संकल्प ढकालले विद्यालयको सफलतामा शिक्षकहरूको भूमिकाको प्रशंसा गरे। “आज हाम्रो विद्यालय यहाँसम्म आइपुग्न शिक्षकमाथिको समर्पणको ठूलो योगदान छ,” उनले भने। ढकालले विद्यालयमा थप शैक्षिक, सांस्कृतिक, र खेलकुद कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
त्यस्तै बेलकोटगढी नगरपालिकाका उपनगरप्रमुख शिवप्रसाद दाहालले विद्यालयको संरचना र शैक्षिक सुधारका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको बताए ।
नेपाली कांग्रेसका नेता जगदिश्रवर नरसिंह केसीले विद्यालयको शैक्षिक सुधारमा राजनीतिक हस्तक्षेप रोक्न आग्रह गर्दै विद्यालयलाई शैक्षिक उत्कृष्टताका नयाँ उचाइमा पु¥याउन सामुदायिक सहकार्य आवश्यक रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाले स्वर्ण जयन्तीको अवसरमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको प्रगति र पारदर्शितामा प्रतिबद्ध रहने बताए। कार्यक्रममा विद्यालयका संरचना निर्माणका लागि जग्गा प्रदान गर्ने दुर्गाप्रसाद पुडासैनी र टिकाराम खतिवडालाई सम्मान गरिएको थियो ।
स्वर्ण जयन्तीको अवसरमा सहभागी सरोकारवालाहरूले विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न एकजुट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

23.72¡ÆC