अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली

पुस ७, २०८१ मा प्रकाशित | 324 views


काठमाडौँ । अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । भोलि भने अझै बढ्ने देखिएको उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाण्डाैसम्म आइपुग्ने उहाँले बताउनुभयो । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाण्डाैकाे तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web