
नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुईवटा पक्कि पुलको निर्माण थालिएको छ । लिखु गाँउपालिकालाई जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाँउपालिकासंग जोड्न तथा सदरमुकाम विदुर तथा राजधानी काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै गाँउको एउटै खोलामा दुईवटा पक्कि पुल निर्माण थालिएको हो ।
उक्त दुई पुलको शुक्रबार बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केबाट सयुक्त रुपमा शिलान्यास गरिएको छ । दुईवटा पुलको शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले जनताको माग अनुसार एकै गाँउमा एउटा खोलामा दुईवटा पुल बनाउन थालिएकाले निर्माण पश्चात कृषि उपज बजार पु-याई आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययनन अनुसार गाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा बजार पु-याउन पुलको अत्यावश्यक देखिएकाले बजेट बिनियोजन गरिएको हुदाँ सोही अनुसार लाभ लिन उहाँले स्थानीय लाभग्राहीलाई आग्रह गर्नुभयो ।
“लिखु र बेलकोटगढीमा व्यावसायिक रुपमा आलु सहितको तरकारी खेती हुने भएपनि बजार लैजान भइरहेको समस्या पुल निर्माणले सहज हुनेछ ।” मुख्यमन्त्री तामाङले भन्नुभयो “निर्माण व्यावसायीले पुल बनाउन सुरु गरेकाले उक्त पुलहुदैँ सवारीसाधन मार्फत सजिलै बजार लैजाने कृषि उपज उत्पादन फलाउन किसान पनि लाग्नु पर्दछ ।”
कार्यक्रममा प्रदेसको भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बागमती प्रदेस मार्फत निर्माण थालिएका भौतिक संरचनाका काम गुणस्तर र तोकिएको अवधिभित्र सम्पन्न गर्न मन्त्रालय सक्रिय रहेको बताउनुभयो । सोही अनुसार एकैसाथ शिलान्यास गरिएका दुई पुललाई पनि समयअवधि भित्रै काम पूरा गर्न उहाँले निर्माण व्यावसायीलाई सचेत गराउनुभयो ।
सो अवसरमा बागमती प्रदेससभा सदस्य रमेशकुमार महत, नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनाली लगायतले पुल निर्माणसगैँ सडकलाई व्यवस्थित (कालोपत्र) गर्न आवश्यक रहेको बताउनुभयो ।
सिन्दुरे खोलामा निर्माण थालिएका दुई पुल मध्ये लिखु गाँउपालिका–३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी–१३ स्थित ढाडेँफेदी जोड्ने पक्कि पुलको लागत रु आठ करोड ४६ लाख रहेको छ ।
लिखु–३ स्थित कटरबोटेबाट ककनी–७ चतुरालेफेदी जोड्ने पक्कि पुलको लागत रु पाच करोड ८६ लाख रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिनुभयो । उक्त दुई पुल विसं.२०८२ असोजसम्म सम्पन्न गर्नुपर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

23.72¡ÆC