
नुवाकोट । डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा विदुर नगरपालिका वडा नं .४ को मुख्य–मुख्य बजार क्षेत्रमा बिहीबार ‘वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम’ गरिएको छ ।
सचेतना तथा अभियानको रुपमा डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा गरिएको कार्यक्रममा वडा नं ४ को वडा कार्यालय संगमचोकबाट सुरु भएर विभिन्न टोल तथा वस्तीको सरसफाई गर्दै हावाघरमा पुगेर सम्पन्न गरिएको हो ।
विदुर नगरपालिकाको कार्यालय, वडा नं. ४ को कार्यालय र वन प्राविधिक श्रीमति समूहसंगको सहकार्यमा आयोजित कार्यत्रममा वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल सहित निर्वाचित जनप्रतिनिधि र वडाका कर्मचारीहरु, डिभिजनल वन अधिकृत रोशना पोखरेल सहित वन कार्यालयका प्राविधिक कर्मचारीहरु, वन प्राविधिक श्रीमति समूहका अध्यक्ष अप्सरा उप्रेती सहित समूहका पदाधिकारीहरु, विदुर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी बहन गर्दै आएको क्लिन द नेपाल लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा वडा नं. ४ मा रहेको आश्रित नगर टोलि विकास सँस्था, बालुवाटार टोल विकास सँस्था लगायतमा आबद्ध रहेका तथा स्थानीय वडाबासीको सहभागिताले सडक किनारको दायाँबायाँ थुप्रिएका फोहोर उठाउने, अबरुद्ध बनेका ढलनाली सुचारु गर्ने, झाडी फाड्ने लगायतको कार्य गरेर नगरको वस्तीहरु सफा गरिएको हो ।
वडाध्यक्ष ढुङ्गेलले स्थानीय नगरबासीलाई आ–आफ्नो घर तथा वस्तीको अगाडी फोहोरलाई कुहिने र नकुहिने छुट्टाएर राख्न सुझाब दिनुभएको थियो भने पसलमा खरिद गरिएका सामाग्रिबाट उक्त पसल अगाडी उपभोक्ताले गर्ने फोहोर व्यवस्थित गर्न व्यावसायीलाई सजग गराउनुभएको थियो ।
वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम सुरु हुनपूर्व वडा कार्यालयमा आयोजित संक्षिप्त सम्बोधनको क्रममा सरसफाई अभियानलाई निरन्तरता दिन डिभिजनल वन अधिकृत रोशना पोखरेलले अुनरोध गर्नुभयो । उक्त अभियानको लागी डिभिजन वन कार्यालयको तर्फबाट प्रमुख रोशना पोखरेलले फोहोर संकलन र व्यवस्थित गर्न वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेललाई २५ थान स्ट्याण्ड सहितको थुन्से प्रदान गर्नुभएको थियो । वातावरणमैत्री समेत रहेको र हरियो रङ्ग लगाएकाले उक्त थुन्से लामो समयसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

22.57¡ÆC