बाँकेमा दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

पुस ३, २०८१ मा प्रकाशित | 223 views


काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जमा रहेको मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको छ ।

लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको यस केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शम्शेरगञ्जमा केन्द्रको कुल तीन दशमलव ५९ हेक्टर जमिनमध्ये जलाशय जमिन एक दशमलव ८२ हेक्टर छ । जलाशय जमिनमा भुरा उत्पादनका लागि साना ठूला गरेर २३ पोखरी निर्माण गरिएको छ । जसमध्ये रेयरिङ्ग पोखरी चार, नर्सरी पोखरी १२, माउ पोखरी ६ र खानेमाछा पोखरी एउटा छ ।

मत्स्य विकास केन्द्र शम्शेरगञ्जमा गएको आर्थिक वर्ष २०८०/८१ मा ‘ह्याचलिङ’ भुरा दुई करोड, ‘फ्राई’ भुरा १५ लाख, ‘फिङ्गरलिङ्ग’ भुरा १२ लाख र खानेमाछा (इएरलिङ्ग) तीन क्विन्टल उत्पादन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा धेरै उत्पादन भएको चौधरीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा भन्दा गएको आर्थिक वर्षमा कैयौं गुणा बढी भुरा उत्पादन गरेको कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा ‘ह्याचलिङ्ग’ भुरा दुई करोड १९ लाख, ‘फ्राई’ भुरा २२ लाख ९८ हजार, ‘फिङ्गरलिङ्ग’ भुरा २० लाख चार हजार र खानेमाछा ६ दशमलव ३० क्विन्टल उत्पादन भएको थियो ।

यस आर्थिक वर्षमा माछाजन्य वस्तुको बिक्रीबाट २९ लाख ८२ हजार ६ सय ७१ रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । उत्पादन भएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web