‘वेत्रावती सन्धि’स्थलको संरक्षणमा स्थानीय सरकार र नेपाली सेनाको सक्रियता 

मंसिर २२, २०८१ मा प्रकाशित | 307 views

त्रिशूली । नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष बिजयी भएपश्चात दुई देशबीच ‘वेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागी विदुर नगरपालिकाले चासो देखाएको छ ।

पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित स्थित वेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यावस्थापन, पुरातात्विक स्वरुपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको शालिक स्थापना एवम् युद्ध सङ्ग्रामका सामाग्रि सहितको स्मारक स्थापनाको लक्ष्य सहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार चालु आर्थिक वर्षमा रु १८ लाख बजेट बिनियोजित गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न लागिएको छ ।

“बिनियोजित बजेटको काम सुरु गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवम् निरीक्षण भइसकेको छ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “ऐतिहासिक दुई ढुङ्गा रहेको ठाँउ र यस आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को निर्माण नगरपालिका मार्फत भइरहेको छ । नेपाली सेनाबाट युद्ध सग्राम संरचना स्थापनाको अध्ययन भइरहेको छ ।”

विदुरले आन्तरिक श्रोतबाट तयार गरिने डिपिआरले निर्देश गरे अनुसार बिनियोजित बजेटबाट नेपाली सेनासंगको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाइएको छ । विसं. १९४९ मा भएको सन्धि पश्चात उक्त स्थान अलपत्र र जीर्ण छ । संरक्षणको लागी यहाँको विदुर नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकाय (पुरातत्व विभाग, बागती प्रदेस र संघीय सरकार)बाट आर्थिक र प्राविधिक सहयोग प्राप्त हुने प्रतिबद्धता पाएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

विसं. १९४९ मा भएको नेपाल–भोट युद्धमा नेपाली पक्ष बिजयी भएसगैँ बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा नेपाली पक्ष बसेका र तिब्बती पक्ष बसेका दुई बिशाल ढुङ्गा रहेका छन् ।

उक्त ढुङ्गाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दूधेगढी, जीतगढी हुदै सूर्यगढीसम्मलाई कुटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको हो । दूधेगढीको संरक्षणको लागी विदुर नगरपालिकाले रु एक करोड आठ लाख मार्फत र सूर्यगढीको संरक्षणको लागी सूर्यगढी गाँउपालिका मार्फत पुरातत्व विभागसंगको समन्वय र नेपाली सेनासंगको सहकार्यमा काम भइरहेको छ ।
–रामहरि न्यौपाने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web