नुवाकोटमा अध्ययनरत चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दिक्षित

मंसिर १२, २०८१ मा प्रकाशित | 243 views

त्रिशूली । विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र आइटी अध्ययनरत विद्यार्थी दिक्षित भएका छन् । यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी प्रारम्भिक तहको अध्ययन पूरा गरेका पचास जना विद्यार्थी दिक्षित भए । गत ३० अगष्ट २०२४ देखि सुरु भएको कक्षा २७ नोबेम्बरका दिन सम्पन्न भएको हो ।

प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई चीन सरकारको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजबाट आएका प्रशिक्षकहरु र जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङ,विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, वडा नं .८ का अध्यक्ष कमल श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो ।

चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ का विद्यार्थी सहित स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको भाषा र सीप विकासको तह विद्यार्थीले सफतापूर्वक तीन महिनामा पूरा गरेको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालका कोअर्डिनेटर रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार नेपालमा पहिलो पटक नमूना परीक्षणका रूपमा चिनियाँ दूतावासको सहयोगमा सञ्चालन गरिएको भाषा र सीप विकास अध्ययन विद्यार्थीले सहज रुपमा पूरा गरेका छन् । दूतावासबाट अब अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका विद्यार्थीलाई समावेश गराउने तयारीमा रहेको जानकारी प्राप्त भएको जि.स.स.का उपप्रमुख तामाङले जानकारी दिनुभयो ।

“परीक्षणको रुपमा नेपालमा पहिलो पटक सुरु गरेको कार्यक्रममा विद्यार्थीको सफलताले दूतावास उत्साहित भएको जानकारी दिएको छ ।” उहाँले भन्नुभयो “अध्ययन र सीप सिकाईको तह पूरा गरेका मध्ये उत्कृष्ट विद्यार्थीलाई अध्ययनको लागी चीन जाने अबसर समेत उल्लेख छ ।”
कार्यक्रमको सफलता पश्चात नुवाकोटमा नै थप कार्यक्रम विस्तार सहित शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालनको लागी दूतावासले यहाँबाट प्रस्ताव माग गरेको छ ।

विश्वका एकसय बढी देशमा भाषा र प्रविधि सम्बन्धी कक्षा सञ्चालन गरेको चीन सरकारले नुवाकोट सहित चीनसंग सीमा जोडिएका जिल्लाहरुमा यस कार्यक्रमलाई विस्तार गर्न चाहिरहेको छ ।

चीन सरकारले ‘सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेज’ले नेपालको ‘ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल’ सँस्थासंगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याएको वडा नंं ८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँको अनुसार चिनियाँ कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षाको प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीले चिनियाँ भाषामा पढ्न, लेख्न र कम्युटरमा आधारित सीप विकास सम्बन्धि (प्रविध)मा काम गर्न सक्ने भएका छन् ।

समापन कार्यक्रममा वडा नंं ९ का अध्यक्ष हरेराम भण्डारी, १० का अध्यक्ष गणेशकुमार नेपाल लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web