स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छ : मुख्यमन्त्री लामा

मंसिर १०, २०८१ मा प्रकाशित | 307 views


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन जोड दिनुभएको छ ।

हिजो १०औँ उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा आयोजित नवप्रवर्गतक उद्यमी सम्मान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हाम्रो वरपर भएका कच्चापदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सके कच्चापदार्थको आयातका नाममा नेपाली पैसा नबाहिरिने बताउनुभयो ।

विदेशीभन्दा स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन आग्रह गर्दै मुख्यमन्त्री लामाले कृषि क्षेत्रमा स्वदेशमै बीउ उत्पादनमा जोड दिनसमेत आग्रह गर्नुभयो । नेपाली बजारमा टपरीको प्रशस्त माग रहेकाले गुणस्तरीय सामग्री उत्पादन गर्न सके यसले विश्व बजारमा पर्याप्त आम्दानी गराउन सक्ने उहाँको भनाइ थियो ।

तीन तहको सरकारले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्था गरिनुपर्ने उल्लेख गर्दै लगानीकर्तालाई सुरक्षित वातावरण र प्रविधिमैत्री बनाइनु सरकारको दायित्व रहेको बताउनुभयो । उद्योगी–व्यवसायीलाई हेर्ने नजर सकारात्मक बनाउनमा जोड दिँदै उहाँले स्वदेशमा रोजगारी बढाउन सके बेरोजगार समस्या हल हुने बताउनुभयो । रोजगार सिर्जना भएपछि युवाशक्ति पलायन हुनबाट रोकिने उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारबाट उद्योग र कृषि क्षेत्रमा रु तीन अर्ब बजेट लगानी भएको र सरकारको अनुदान सही ठाउँमा प्रयोग गर्न उद्योग–व्यवसायीलाई आग्रह गर्नुभयो ।

“प्रदेश सरकारले नेपाली कागजलाई सरकारी कामकाजमा अनिवार्यरुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ, उद्योग व्यवसायीका समस्यालाई समाधान गर्न ऐन नियम हेरफेरमा ध्यान दिनेछौँ”, मुख्यमन्त्री लामाले भन्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले युवालाई स्वदेश फर्काउन उद्योग क्षेत्रको विकासले मात्र सम्भव भएको बताउनुभयो । उहाँले साना उद्योगलाई विकास विस्तार गर्न, स्वदेशी कच्चापदार्थ प्रयोग गर्न आग्रह गर्दै उद्योग वाणिज्य क्षेत्रमा प्रदेश सरकार लगानी बढाउन सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा काभ्रेपलाञ्चोकका झ्याम्बल कृषि फर्म उद्योग प्रालिलाई सर्वोत्कृष्ट उद्योग घोषणा गर्दै नगद रु एक लाखसहित सम्मान गरिएको थियो भने अन्य १० उत्कृष्ट उद्यमीलाई जनही रु ४० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, प्रदेश प्रमुख सचिव डा.हरिप्रसाद लम्साललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web