
त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारमा नयाँ पक्कि पुल निर्माण गरिएको छ । निर्माण थालिएको दुई वर्षको अवधिमा कार्य सम्पन्न गरेर गाडी चलाउन सुरु गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार त्रिशूली जलविद्युत आयोजना निर्माणको क्रममा सामाग्रि ढुवानी गर्न विसंं २०२० सालमा बनेको यसअघिको ट्रस पुल जीर्ण भएसगैँ सोही स्थान नजिकै नयाँ पक्कि पुल निर्माण गरिएको हो ।
विसं. २०२० साल फागुन १२ गते तत्कालीन राजा महेन्द्र विरविक्रम शाहले उद्घाटन गरेर सञ्चालनमा ल्याएको पुल मार्फत साठी वर्षसम्म यातायात सञ्चालन भइरहेको थियो । उक्त पुलको लामो समयसम्म मर्मतसम्भारको अभाव र कम क्षमता (भारबहन)को कारण नुवाकोटको त्रिशूली पारी सहित धादिङबासीले समस्या भोग्दै आएका थिए ।
“यसअघिको ट्रस पुल आठ मेट्रिक टन क्षमताको एक लेनको थियो भने अहिले पैतिस मेट्रिक टन क्षमताको दुई लेनको सुविधाजनक पुल बनेको छ ।” नगरप्रमुख राजन श्रेष्ठले भन्नुभयो । “छ दशक पूरानो भएको पुलको कारण दुर्घटनाको उच्च जोखिम भइरहेको अबस्थामा नयाँ निर्माण गरिएको पुलले आवागमन सहज सहित सुरक्षित महशुस भएको छ ।”
नुवाकोटको आधा भूभाग सहित धादिङसम्म सञ्चालन हुने यातायात आवागमनलाई नयाँ निर्माण भएको पुलले सहज र सुरक्षित बनाएको छ । साठी मिटर लामो र एघार मिटर चौडा भएको दुई लेनको पुल निर्माणको लागी संघीय सरकारको रु आठ करोड लगानी भएको छ ।
‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तरगत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएको भन्दा अझै थप भारबहन क्षमता रहेको पुल निर्माणको संयोजन गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको पुल महाशाखा काठमाडौँ अन्तर्गत सेक्टर नं २ ललितपुरले जनाएको छ ।
पुल निर्माणको जिम्मेवारी पाएको हिमडुङ एण्ड थोकर÷गणेश कुण्ड निर्माण कम्पनी जेभीले पुल सम्पन्न गर्दै पहुँचमार्गको कालोपत्र गरेसगैँ नयाँ बनेको पुलबाट गाडी सञ्चालनमा ल्याइएको छ ।
–रामहरि न्यौपाने
19.52¡ÆC