थाई एयर एसियालाई नेपाल उडानमा रोक

कार्तिक १२, २०८१ मा प्रकाशित | 327 views


काठमाडौँ । बैंकक–काठमाडौं–बैंकक उडान अनुमति लिएको एक महिना नबित्दै थाई एयर एसियालाई नेपाल उडानमा रोक लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थालेको एक महिनाभित्रै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नुपर्ने सर्त पालना नगरेपछि नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको उडानमा रोक लगाएको हो ।

प्राधिकरणले थाई एयर एसियाको नेपाली एजेन्ट कम्पनीका सञ्चालक परासर प्रसाईं र उनको कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सलाई आइतबार निलम्बन गरेको छ । सञ्चालक प्रसाईं र उनको कम्पनीले गर्ने उडानसम्बन्धी कार्य अब गैरकानुनी मानिनेछन् ।

यसअघि पनि थाई एयर एसियाको मूल कम्पनी एयर एसिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ०६९ देखि ०७५ सम्मको २७ करोड रुपैयाँ बक्यौता फर्जी भौचरमार्फत तिरेको देखाएर भागेको थियो । प्रसाईंले नै केही महिनाअघि पुरानो बक्यौता तिर्न बैंक ग्यारेन्टीको कागजात प्राधिकरणलाई बुझाएर थाई एयर एसियाको उडान अनुमति लिएका थिए । अनुमतिका लागि उच्च तहबाट राजनीतिक दबाब दिइएको प्राधिकरणका एक अधिकारीले बताए ।

थाई एयर एसियालाई नेपालमा उडान गर्न शनिबार (कात्तिक १०) सम्म मात्रै अनुमति थियो । ‘शनिबार थाई एयर एसियाको अन्तिम उडान अनुमति थियो,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘सातामा भैरहवामा ४ र काठमाडौंमा ४ वटा उडान गर्ने सर्तमा उसलाई अनुमति दिइएको थियो ।’ उनका अनुसार दिल्लीबाट काठमाडौं उडान अनुमति मागेका एयर इन्डिया एक्सप्रेस र आकासा एयरलाई भैरहवा जाने सर्त नमानेकाका कारण प्राधिकरणले स्वीकृत गरेको छैन । भैरहवा र पोखरा पनि साथसाथै उडान गर्ने वायुसेवा कम्पनीलाई भने काठमाडौंमा पनि उडान अनुमति दिने बाटो खुला नै राखिएको छ ।

थाई एयर एसियाको जहाज आइतबार बिनाअनुमति काठमाडौं आएपछि क्याप्टेन (पाइलट इन कमान्ड) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको थियो । ‘आइतबार नेपाल आएको थाई एयर एसियाको एयरबस ए३२० जहाजका क्याप्टेन माथावाज अफिरातनाथापोंगले माफी मागेपछि जहाजलाई चार घण्टापछि साझ ६:५७ बजे बैंकक उडानका लागि छाडियो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने । उनका अनुसार नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका कारण काठमाडौं आएको क्याप्टेनले बताएका थिए ।

उक्त विमानलाई आइतबार काठमाडौंमा चार घण्टा नियन्त्रणमा राख्नुअघि ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमा होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो । पूर्वनिर्धारित तालिकाअनुसार उक्त जहाज दिउँसो २ बजे अवतरण हुनुपर्ने र ३ बजे फर्किनुपर्ने थियो । त्रिभुवन विमानस्थलले उक्त जहाजलाई यहाँ अवतरण नगराई बैंकक नै फर्काउन खाजेको थियो । तर जहाजका क्याप्टेनले ३० मिनेटलाई मात्रै पुग्ने इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि अवतरण अनुमति दिइएको थियो । त्यस जहाजमा बैंककबाट १ सय ७६ यात्रु आएका थिए भने काठमाडौंबाट फर्किने १ सय ६० जना थिए ।

युनिभर्सलका सञ्चालक प्रसाईंले उच्च राजनीतिक भनसुन र दबाबका आधारमा थाई एयर एसियाको काठमाडौं उडान भैरहवा गर्ने सर्तमा असोज १६ गतेदेखि (अक्टोबर २) अनुमति लिएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बतायो । आइतबार पनि उनले उच्च राजनीतिक दबाबमार्फत थाई एयर एसियाको उडानमा रोक नलगाउन र उनको एजेन्ट कम्पनी युनिभर्सललाई निलम्बन नगर्न दबाब दिएको स्रोतले बतायो ।

कोभिडअघि २७ करोड बक्यौता नतिरेर भागेको यसैको मूल संस्था एयर एसियाको बक्यौता तिर्ने बैंक ग्यारेन्टी प्रसाईंले प्राधिकरणलाई बुझाएपछि यो वायुसेवालाई प्राधिकरणले भैरहवामा उडान गर्ने सर्तमा काठमाडौंमा उडान अनुमति दिएको थियो । यसले एक महिनाभित्र भैरहवाको अध्ययन गरेर उड्ने सर्त पेस गरेको थियो ।

प्राधिकरणका सहप्रवक्ता भुलका अनुसार थाई एयर एसियालाई अक्टोबर २ (असोज १६) देखि २७ (असोज १०) सम्म मात्रै काठमाडौंको उडान अनुमति दिइएको थियो । नेपालले हरेक अक्टोबरको अन्तिम आइतबारदेखि अर्को नयाँ अंग्रेजी वर्षको मार्चको अन्तिम आइतबारसम्म शीतकालीन तालिका (विन्टर सेड्युल) लागू गर्छ । मार्चको अन्तिम आइतबारदेखि त्यसै अंग्रेजी वर्षको अक्टोबर अन्तिम आइतबारसम्म अर्को उडान तालिका लागू हुन्छ । यी दुई याममा वायुसेवा कम्पनीहरूले हावापानी तथा मौसमका आधारमा उडान समय र संख्या फेरबदल गर्छन् । यो अन्तर्राष्ट्रिय नियम हो ।

भैरहवा उडान नगरेको तथा आइतबारको बिनाअनुमति उडानका विषयमा कुरा गर्न खोज्दा युनिभर्सलका सञ्चालक प्रसाईं सम्पर्कमा आएनन् । उनले एसएमएसको जवाफ पनि फर्काएनन् । हाल बैंककबाट काठमाडौंमा नेपाल वायुसेवा निगम, थाई एयर र थाई लायन गरी तीनवटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web