नुवाकोट । वरिष्ठ पत्रकार किशोर नेपालले स्थानीय तह बलियो बनाएमात्रै संघीय गणतन्त्र सुदृढ हुने बताउनुभएको छ ।
नुवाकोटको बेलकोटगढीमा ‘झिल्टुङ नेपाल समाज’को साधारणसभा तथा सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पत्रकार नेपालले देशमा संघीयताको परिकल्पना गर्दा केन्द्रले पालिकालाई आफ्नो मातहतमा राख्न कानूनी रुपमा (संविधान) उल्लेख हुनु शक्ति विकेन्द्रीकरणको सिद्धान्त विपरित रहेको बताउनुभयो ।
‘केन्द्रले पालिकालाई आफ्नो कब्जामा लिने जुन रणनीति अपनाएको छ । संविधानमै अप्रत्यक्ष रुपमा त्यही अनुसार ब्याख्या गरेको हुदाँ स्थानीयतहको अधिकार घुम्चिएको छ ।” उहाँले भन्नुभयो “पालिकाहरुले स्वतन्त्र रुपमा आफ्नो क्षेत्रको विकास गर्न पाउने कानून र ब्यबहार सुनिश्चित नभएसम्म गणतन्त्र प्राप्तीको महशुस गर्न सक्दैनन् ।”
देशभरका निर्वाचित पालिका प्रतिनिधि एक भएर आफ्नो पालिकाको अधिकार केन्द्रसँग लिन असल सेवा प्रवाहमा जुट्न बरिष्ठ पत्रकार नेपालले आग्रह गर्नुभयो । सबैभन्दा पहिलो र घलदैलोको सरकारको रुपमा रहेको स्थानीय तहले जनताका प्रत्यक्ष जनजीवनसंग जोडिएका मुद्धालाई सम्बोधन गर्न सक्नुपर्ने उहाँको सुझाब छ ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पालिकाको हरेक वडामा विकासका काम गर्न बजेटमा पूर्ण अधिकार नहुँदा समस्या भएको गुनासो गर्नुभयो ।
नुवाकोटको झिल्टुङ थातथलो भएर देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपाल बन्धुहरुलाई समावेश गर्दै पाच वर्षअघि झिल्टुङ नेपाल समाज गठन गरिएको अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभयो ।
नेपाल बन्धुहरुलाई एकीकृत गरी समुदायका सबै वर्ग र क्षेत्रको विकासमा एकजुट हुने उद्देश्यले समाज गठन भएकाले सोही अनुसार गतिविधि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाजले समाजसेवी र जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको थियो ।