
काठमाडौँ । मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पानी छोड्न थालिएको छ । कुलेखानीको पानी कुलेखानी र सिस्नेरी खोला हुँदै बागमती भएर बग्छ ।
त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ गरेको छ । निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिएपछि यसअघि हिजो बेलुका नै ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने भन्दै नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको थियो ।
जलशायमा पानीको सतह भरिएर बाहिर जान थालेपछि बिहान पौने ६ बजेदेखि बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको छ । पानीको सतह बढ्न थालेपछि हिजोदेखि ने ६० मेगावाटको विद्युत गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ । पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।
कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ । तर जलाशययमा पानीको तह समुद्र सतहबाट एक हजार पाँच सय ३० दशमलव ९३ मिटर पुगेको छ । केन्द्र प्रमुख भट्टका अनुसार, पानीको तह एक हजार पाँच सय ३० दशमलव ३५ मिटर पुगेपछि नै बाँधका ढोका आंशिक रूपमा खोलिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई ख्याल गरेर बिहानै ढोका खोलिएको जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको उहाँको भनाइ छ ।
16.33¡ÆC