त्रिशूली अस्पतालमा दूर्लभ प्रकृतिको जोखिम गर्भवतीको सफल शल्यक्रिया

भदौ २७, २०८१ मा प्रकाशित | 338 views


-रामहरि न्यौपाने
नुवाकोट, २७ भदौ । त्रिशूली अस्पताल नुवाकोटमा गर्भवती महिलाको जटिल प्रकारको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । गर्भमा उल्टो बसेको बच्चाको घाँटीमा तीनफन्का साल बेरिएर शिशु निसास्सिएको र सुत्केरी हुने जोखिम अबस्थामा रहेको एक महिलाको बुधबार सफल शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो ।

यस किसिमको शल्यक्रियालाई चिकित्सकीय भाषामा सिजरियन सेक्सन अप्रेसन भनिन्छ । जोखिम अबस्थाको निकै दूर्लभ मानिने यस अबस्थाको गर्भवतीलाई विगतमा काठमाडौको सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्ने गरिएकोमा अहिले यही (त्रिशूली अस्पताल) मा नै शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँको अनुसार गर्भवती जाँच गराउन अस्पताल पुगेको महिलाको भिडियो एक्सरे मार्फत परीक्षण गराउदा बच्चा उल्टो बसेको र घाटीमा साल बेरिएर निसास्सिएको पाइएपछि आमा र शिशु बचाउन आकस्मिक शल्यक्रिया गरिएको हो ।

“गर्भमा बच्चा उल्टो बस्नु अथवा साल बेरिनु मध्ये कुनै एक किसिमको जोखिमको बहन गरिदै आएपनि दुवै समस्यामा रहेको जोखिमलाई निकै दूलर्भ मानिन्छ ।” अस्पतालका निर्देशक डा.लामाले भन्नुभयो “ यस्तो अबस्थामा जतिसक्दो चाडो शल्यक्रिया गर्न नसके दुर्घटना निम्तन सक्ने हुदाँ दक्ष एवम् अनुभवी गाइनोलोजिस्ट चिकित्सकले सतकर्तापूर्वक शल्यक्रिया मार्फत सुत्केरी गराई आमा र शिशु दुवैलाई जोखिम मुक्त बनाई प्राप्त भएको सफलतालाई ठूलो उपलब्धिको रुपमा लिइएको छ ।

त्रिशूली अस्पतालका गाइनोलोजिस्ट डा.अनिलकुमार खरेल र डा.दीपिका श्रेष्ठ तथा एनेस्थेसियालोजिस्ट डा.पार्वती गौतम र शल्यक्रिया कक्ष इञ्चार्ज चारु थापामगरको टिमले जोखिम अबस्थाको गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराइएको हो । अस्पतालका निर्देशक डा.लामाको अनुसार अहिले आमा र शिशु दुवैको अवस्थामा सामान्य रहेको छ ।

“अस्पतालमा गर्भवती सेवा अन्तरगत शल्यक्रिया मार्फत सुत्केरी गराउदै आएपनि यस किसिम (सिजरियन सेक्सन अप्रेसन)को अत्यन्त जोखिम अबस्थामा पुगेको सुत्केरीको शल्यक्रिया पहिलो पटक गरिएको हो ।” अस्पतालका निर्देशक डा.लामाले भन्नुभयो “यस्तो अबस्थामा तत्कालै बच्चा निकालेर आमा र शिशुलाई बचाउन सक्नुसक्नु ठूलो उपलब्धि मानिन्छ ।”

नुवाकोटको त्रिशूली अस्पताल त्रिशूली अस्पतालले प्रदान गर्ने विभिन्न विभागीय सेवा अन्तरगत गुणस्तर मापन स्वरूप गरिने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन र क्लिनिकल अडिटमा बागमती प्रदेस सहित देशभरमा नै उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।

सुविधासम्पन्न भौतिक संरचनामा अत्याधुनिक उपकरणको सहायता मार्फत दक्ष एवम् अनुभवी चिकित्सक मार्फत प्रवाह हुने सेवाले अस्पताललाई निरन्तर उत्कृष्ट अस्पतालको उपाधी प्राप्त गरेको छ । यस अस्पतालका नुवाकोट सहित रसुवा, धादिङ लगायतबाट दैनिक पाचसय भन्दा बढी बिरामीले सेवा प्राप्त गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web