त्रिशूली । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बागमती प्रदेस सरकारको लागतमा विस्तार तथा स्तरउन्नती गरिएका सडकलाई कालोपत्रे गरिने बताउनुभएको छ ।
नुवाकोटको बेलकोटगढी–७ मा बुधबारदेखि सुरु भएको ‘तिज पर्व विशेष रमाइलो मेला’को उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले सडकमा लगानी गर्ने तर, संरक्षण नहुने प्रवृत्ति अन्त्य गर्न विस्तार भएका सबै सडकलाई अनिवार्य कालोपत्रे गर्ने कार्यक्रम ल्याउन लागिएको बताउनुभएको हो ।
“कुन सडक, कुन सरकारको दायित्वमा पर्छ भन्ने पहिचान नहुदाँ समस्या भइरहेको छ ।” उहाँले भन्नुभयो “जुन सरकारले लगानीमा निर्माण गरिएको छ । सोही सरकारबाट नै संरक्षण र सम्बद्र्धनको जिम्मेवारी लिनुपर्छ भनेर तीनतहका सरकारबीच छलफल भइरहेको छ । आफ्नो दायित्व भित्रका सडकलाई कालोपत्रे गर्ने जिम्मेवारी पूरा गर्न प्रदेस सरकार तयार छ ।”
सरकारको लगानीको ठूलो हिस्सा सडकमा गरेपनि सोही अनुसार जनजीवन सहज बनाउन र आर्थिक रुपान्तरणसंग जोड्न नसकेको मुख्यमन्त्री तामाङले गुनासो गर्नुभयो । जनताको मागको सम्बोधन र जनप्रतिनिधिलाई काम देखाउन सबैभन्दा सजिलो योजना सडक विस्तार भइरहेको भन्दै प्रदेस सरकारले नयाँ ट्रयाकको विस्तार नगर्ने र यसअघि विस्तार भइसकेकालाई प्राविधिक अध्ययन पश्चात व्यवस्थित गरिने उहाँको भनाई छ ।
“अध्ययन, आवश्यकता र दिगोपनमा ध्यान नदिई जथाभावी विस्तार भएका सडकले विकास होइन, समस्या निम्ताएको छ ।” मुख्यमन्त्री तामाङले भन्नुभयो “सडक लगायतका पूर्वाधार निर्माणमा प्राविधिक (ईञ्जिनियर)को सिफारिस अनिवार्य बनाई तोकिएको अवधिसम्म उपभोगको सुनिश्चित बनाउन सक्नुपर्छ ।”
बेलकोटगढी नगरपालिका वडा नं. ७ को कार्यालय र न्यू भिजन युवा क्लबको आयोजनामा बेलकोटगढी–७ स्थित खेलमैदानमा बुधबारदेखि सुरु भएको तिज पर्व विशेष रमाइलो मेला (महोत्सव) आगामी भदौ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।