पेरिस पारा ओलम्पिकमा पलेशा क्वार्टरफाइनलमा पराजित

भदौ १४, २०८१ मा प्रकाशित | 269 views


काठमाडौँ । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छिन् ।

पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–८ मा पलेशा ब्राजिलकी सिल्भाना मायारा कार्डाेसाे फर्नान्डेससँग पराजित भइन् । पलेशा फर्नान्डेससँग १०–८ अङ्कले पराजित भइन् ।

यसअघि आजै भएकाे अन्तिम–१६ काे प्रतिस्पर्धामा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी थिइन् । यो खेल हारे पनि पलेशाले ‘रिपिचेज’ व्यवस्थाअनुसार कास्य पदकका लागि खेल्न पाउने अवसर कायमै छ । पलेशाले रिपिचेज मा आजै राति १० बजेर ५४ मिनेटमा खेल्दैछिन् ।

पलेशाले गएकाे वर्ष चीनको हाङझाउमा भएकाे पारा एशियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । पारा एशियाली खेलकुदमा नेपालले पाएको यो पहिलो पदक हो ।

यसअघि हिजो भएको खेलमा तेक्वान्दोका भरतसिंह महता जापानका मित्सुया टनाकासँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएका थिए । अब पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस–९ विधामा पुरुष ५० मिटर फ्री–स्टायलमा सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web