रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटायो

भदौ ११, २०८१ मा प्रकाशित | 178 views


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ ।

रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । यसअघि रास्वपाले साधारण सदस्यबाट तपाईंलाई किन नहटाउने भन्दै उहाँलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । तर ढकालले दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको नेताहरूले बताएका छन् ।

गएको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । त्यसपछि ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधिमा उहाँले पुनरावेदन गर्नुभएन । उहाँले आफूमाथिको कारबाही वैधानिक नरहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । ढकालले दिएको निवेदनमा आयोगले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा न्यायिक निकायले कारबाहीलाई बदर गरेपछि नैतिकताका आधारमा सभापति रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web