नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत

भदौ ६, २०८१ मा प्रकाशित | 183 views

त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पाटपूर्जा संकलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने दशजना प्रहरीलाई सम्मान गरिएको हो ।

हेलीकप्टर दुर्घटना भएको सूचना प्राप्त लगत्तै घटनास्थल पुगेर हेलिकोप्टरमा लागिरहेको आगो निभाएर च्यापिएका यात्रुको शवलाई थप क्षति हुन नदिई तदारुकताको साथ साहसिक उद्धार कार्यमा खटिएका, अन्य निकायसंग प्रभावकारी समन्वय गरेका र घटनास्थलमा यत्रतत्र छरिएका यात्रुको सामाग्रि र हेलिकप्टरका पाटपूर्जाको भरपर्दो सुरक्षा व्यवस्था मिलाएका प्रहरीलाई सम्मान गरिएको हो ।

“नगद रुपैयाँ सहित प्रशंसापत्रबाट पुरस्कृत भएका प्रहरीको रेकर्ड अभिलेख किताबखानामा समेत समावेश गर्न सिफारिस गरिएको छ ।” प्रहरी प्रमुख कोइरालाले भन्नुभयो “आपतकालीन परिस्थितीमा संयमतापूर्वक पु-याएको उच्च योगदानको कदरले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला बढेर आगामी दिनमा थप सकारात्मक नतिजा प्राप्त गर्न सकिने छ ।”


सम्मानित हुनेमा प्रहरी हबल्दारहरु आशबहादुर गुरुङ, राजन खत्री र दिपेन्द्र पण्डित, प्रहरी सहायक हबल्दारहरु सुवास खत्री, कमल सापकोटा र गणेशप्रसाद तिवारी रहेका छन् ।

यस्तै, प्रहरी जवानहरु तुर्कबहादुर शाही, अशोक गाहा, संगम कोइरी र विजन गुरुङलाई हेलिकप्टर दुर्घटनाको क्रममा उद्धार, समन्वय र सुरक्षामा पु-याएको योगदानको कदर गर्दै नगद रुपैयाँ सहित सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय किताबखाना लैनचउरलाई गराएको हो ।

गत साउन २३ गते त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाँउपालिका–७ सूर्यचउरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हेलिकोप्टरका क्याप्टेन अरुण मल्ल सहित सवार चारजना यात्रु (चिनियाँ नागरिक)को निधन भएको थियो ।
-रामहरि न्यौपाने ।
राष्ट्रिय समाचार समिति (रासस) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web