
नुवाकोट । विदुर नगरपालिका वडा नंं ५ को कार्यालयले वडाभित्र हुने घटनादर्ता अन्तरगत जन्म र मृत्युमा पाच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
गत आर्थिक वषदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए पाच हजार रुपैयाँ उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पाच हजार रुपैयाँ उपलब्ध गराउन सुरु गरेको हो । उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिनुभयो ।
उहाँको अनुसार गतवर्ष वच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाच हजार रुपैयाँ जम्मा गरेपछि वडाले पनि सोही बराबरको रकम जम्मा गर्न ल्याएको कार्यक्रम प्रभावकारी बन्यो । यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई पाच हजार रुपैयाँ राहत दिन लागिएको छ ।
“बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउदै आएका छौ ।” वडाध्यक्ष न्यौपानेले भन्नुभयो “वडामा विपन्न तथा आर्थिक अबस्था कमजोर भएका परिवारलाई आफ्नो परिवारको सदस्यको मृत्यु पश्तात गर्ने सँस्कार चलाउन पनि गाह्रो अवस्था छ । सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहत प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएका हौ ।”

उक्त कार्यक्रम नगरसभाबाट अनुमोदन गराई बजेटको श्रोत सुनिश्चित समेत भइसकेको छ । चालु आवको खाता सञ्चालन सुरु हुन बाँकी रहेकाले कार्यान्वयनको लागी तयार बनेको छ । वडाले जनताको सुखदुःखमा सरकारको साथ अन्तरगत ल्याएको उक्त कार्यक्रम मार्फत घटनादर्ता अभियानलाई उल्लेख्य सहयोग पुगेको छ । यसअघि आवश्यक भएपछि मात्रै घटना दर्ता गर्ने चलन रहेकोमा उक्त कार्यक्रम सञ्चालनले घटना भएको ३५ दिनभित्रै सूचना दर्ता गर्ने क्रम बढेको हो ।
24.15¡ÆC