
त्रिशूली । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
ऊर्जा मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो । सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् । कार्की र गुरुङलाई ऊर्जा क्षेत्रमा अनुभवी मानिएको छ ।
सरकारले सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएपछि रिक्त स्थानमा उनीहरूलाई नियुक्त गरेको हो । दुवै जनाले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको आरोप सरकारको थियो ।
यही साउन १६ गते दुवै जनालाई ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । त्यसपश्चात उनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै साउन १८ गते मन्त्री खड्काले आचार्य र पुनलाई पदमुक्त गर्ने निर्णय गरेका थिए ।
17.98¡ÆC