प्रधानमन्त्री ओलीको भूमिका चलचित्रमा,भन्नुभयो : “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्”

साउन २०, २०८१ मा प्रकाशित | 222 views


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । 
 
एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उहाँले केही दिनअगाडि अभिनय गर्नुभएको थियो । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्…”, यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वराङ्कन गर्नुभएको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिनुभयो ।
 
चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीलाई सहर्ष स्वीकार गर्नुभएकोप्रति उहाँले आभार व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ”, निर्देशक ढुङ्गानाले भन्नुभयो । 
 
चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गर्नुभएको छ । 
 
शिवम् अधिकारीको कथा लेखन रहेको चलचित्रमा  मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web