काठमाडौँ । गएको बुधवार काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट पाइलटलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयले जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।
बुधवार बिहान ११ काठमाण्डौबाट पोखरा जान लागेको सौर्य एअरको विमान उड्नेबित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको ज्यान गएको थियो । ज्यान जानेमा सौर्य एअरका कर्मचारी, इन्जिनियर तथा उनीहरूका आफन्त रहेका छन् ।