
काठमाडौँ । महिला एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले लगातार दोस्रो जीत हात पारेको छ । आज श्रीलङ्काको दम्बुलामा भएको खेलमा बङ्गलादेशले मलेसियालाई एक सय १४ रनले हरायो ।
बङ्गलादेशले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । मलेसियाकी इल्सा हन्टरले सबैभन्दा धेरै २० रन बनाइन् । बङ्गलादेशकी नाहिदा अक्तेरले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा २ विकेट गुमाएर १ सय ९१ रन बनायो । बङ्गलादेशकी मुर्शिदा खातुनले ८०, कप्तान निगर सुल्तानाले नट आउट ६२ रन बनाइन् । मलेसियाकी माहिराह इजजाती इस्मेल र इल्सा हन्टरले समान १ विकेट लिइन् ।
यो जीतसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया तीन वटै खेल हारेर तालिकाको पुछारमा छ ।
प्रतियोगितामा आजै राति यही समूहका श्रीलङ्का र थाइल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ७ बजेदेखि दम्बुलामा शुरु हुनेछ । श्रीलङ्का तालिकाको शीर्ष र थाइल्यान्ड तेस्रो स्थानमा छन् ।
आजको खेलसँगै महिला एशिया कप टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि समूह ‘ए’ बाट भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन् । नवौँ संस्करणको प्रतियोगिता सेमिफाइनल आउँदो शुक्रवार र फाइनल आइतवार हुनेछ ।
20.12¡ÆC