डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाण्डौ महानगरको आग्रह

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले डेङ्गीको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै महानगरले यो रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नगरवासीलाई आग्रह गरेको हो ।

परामर्श सेवाका लागि निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबीसै घण्टा सञ्चालनमा ल्याएको महानगरको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिनुभयो । उहाँले अकस्मात् अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नगरवासीलाई आग्रह गर्नुभयो ।

काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमण फैलिन नदिन हरेक बुधवार र बिहीवार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाएको भुसालले जानकारी दिनुभयो ।

डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्छ । डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्नेजस्ता काम गर्नुपर्छ ।

प्रतिक्रिया

TOP