क्यानडासँग नेपालको फराकिलो हार

जेष्ठ १५, २०८१ मा प्रकाशित | 223 views


काठमाडौँ । आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटियो ।

नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाए पनि ठूलो स्कोर भने बनाउन सकेनन् । कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे । अनिल साहले १६ बलमा २४ रन बनाए। ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्। सन्दिप जोराले ६ रन बनाउँदा करन केसी र सागर ढकालले समान ५ रन बनाए। सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल १ रनमा आउट भए। गुलशन झा र अविनाश बोहोरा शून्यमा पेभेलियन फर्किए ।​

क्यानाडाका लागि डिलन हेलिगरले ४ विकेट लिए। जेरेमी गोर्डन र साद विन जफरले २र२ विकेट लिए। कलिम सना र पर्गत सिंहको नाममा १/१ विकेट रह्यो ।

त्यस टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । क्यानडाका निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए ।

रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले । डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १र१ विकेट लिए।

नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web