कोल्पुको पानी पिउन र सिँचाइका लागि अयोग्य

जेष्ठ २, २०८१ 2024-05-15 मा प्रकाशित
Published at 2024-05-15

129 views

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोरमैला बिसर्जन गर्ने स्थान बञ्चरेडाँडा भएर बग्ने कोल्पुखोलाको पानी पिउन र सिँचाइको लागि अयोग्य भएको अनुसन्धान प्रतिवेदनले देखाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको एक अध्ययनमा सो कुरा प्रमाणित भएको हो ।

अध्ययनले भूमिगत सतहको पानीमा फोहोरमैलाको प्रभाव नदेखिए पनि कोल्पुखोलाको पानीमा भने उल्लेख्य प्रभाव परेको जनाएको छ । साथै फोहोरमैलाबाट निस्कने लिचेड र पानीलाई निर्मलीकरण गरेर मात्रै खोलामा हाल्नसमेत प्रतिवेदनले सुझाव दिएको छ ।

फोहोरमैलाबाट निस्केको लिचेड खोलामा मिसिँदा कोल्पुखोलाबाट सिँचित हजारौँ रोपनी खेतीयोग्य जमिन मरुभूमिकरण हुने जोखिम प्रतिवेदनले औँल्याएको छ ।
गतवर्ष काठमाडौँ महानगरपालिकाको फोहोरमैला प्रभावित क्षेत्रको अध्ययन प्रतिवेदन तयार गर्न जिम्मा पाएको नास्टले आफ्नो अध्ययन सकिएको लामो समयसम्म अध्ययन प्रतिवेदन सार्वजनिक भने गरेको छैन ।

नास्टका एक उच्च अधिकारीले अध्ययन प्रतिवेदनको रिपोर्ट तयार भइसकेको र महानगरसँगको समन्वयबेगर सार्वजनिक गर्न नमिल्ने भएकाले आफूहरुले प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताए । नास्टले २०८० मंसिर २२ गते नै मस्यौदा प्रतिवेदन महानगरमा बुझाएको भए पनि हालसम्म सो प्रतिवेदन सार्वजनिक हुन नसक्नु रहस्यको विषय हो ।

नास्टका अधिकारीले काठमाडौँ महानगरका कारण प्रतिवेदन सार्वजनिक नभएको जवाफ दिन्छन् ।

फोहोर विर्सजन क्षेत्र नुवाकोटको ककनी गाउँपालिकाले पटक पटक प्रतिवेदन सार्वजनिक गर्न र प्रतिवेदनले दिएको सुझावअनुसार प्रभावित क्षेत्रको समस्या तत्काल सम्बोधन हुनुपर्ने भन्दै आएको छ । पालिकाले नास्टसँग प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पत्र नै पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.