ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

बैशाख २, २०८१ मा प्रकाशित | 256 views


काठमाडौँ । काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले हिजो बेलुका ठमेलको त्रिदेवीमार्गमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले चौबीसै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउनका लागि चौबीसै घण्टा बजार खुला गरिएको बताउनुभयो । गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।

काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले चौबीसै घण्टा ठमेल र दरबारमार्ग सञ्चालन हुँदा देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौ महानगर–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयन गर्न जोड दिनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने योजना रहेकोमा बल्ल अगाडि बढेको बताउनुभयो । यो अभियानलाई विस्तारै काठमाण्डौका अन्य शहरमा पनि लैजानुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web