बेलकोटगढीको प्रशासनिक भवनको शिलान्यास

चैत्र १९, २०८० मा प्रकाशित | 295 views


बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालिएको छ । नगरपालिकाको नयाँ भवनको नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले बेलकोटगढी नगरपालिका–९ बाघखोरमा संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

स्थापनाको समयदेखि अस्थायी टहराबाट सेवा दिँदै आएको नगरपालिकाले सरकारी जग्गा २६ रोपनी आफ्नै नाममा प्राप्त गरेसँगै भवन बनाउन कानुनी प्रक्रिया पूरा गरेर निर्माण थालिएको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागी सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदानसहित नगरपालिकाबाट आवश्यक बजेट सुनिश्चित गरिएको छ ।

नयाँ भवन निर्माण गर्न रु १२ करोड ७४ लाखमा निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । भवन निर्माणका लागी दुई वर्ष दिइएको समय सीमा २०८० पुस १९ गतेदेखि नै प्रारम्भ भएकाले तोकिएको समयभित्र सम्पन्न गर्न उपप्रमुख दाहालले निर्देशन दिनुभयो ।

“भवन निर्माणका लागी आवश्यक सहयोग, समन्वय, बजेट विनियोजन लगायतमा कुनै कमी हुन दिँदैनौँ”, उहाँले भन्नुभयो, “तोकिएको अवधिभित्र गुणस्तरीय मापदण्ड कायम गरेर काम सम्पन्न गर्न निर्माण व्यावसायी जिम्मेवार हुुनुपर्छ ।”

नयाँ बन्ने भवनमा नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि सुविधा सम्पन्न तीनतले भवनमा ४० भन्दा बढी कोठा हुने उल्लेख छ । बेलकोटगढी नगरपालिका स्थापनाको समयदेखि हालसम्म नै टहराबाट सञ्चालन भइरहेको छ । साविकका ६ गाविस मिलेर बनेको बेलकोटगढी नगरपालिका एक सय ५५ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web