त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

चैत्र १७, २०८० मा प्रकाशित | 227 views


काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।

 ज्यान गुमाउनेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, त्यहीँ ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । दुर्घटनामा १८ वर्षका दिवस रोकाय बेपत्ता भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार काठमाण्डौको पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार सकेर गोरखा फर्किदै गर्दा ट्याक्सी दुर्घटना भएको हो । गोरखा फर्किदै गरेका तीनवटा गाडीमध्ये अरु दुईवटा गाडी मुग्लिन पुगेपछि ट्याक्सीलाई कुर्दा नआएपछि प्रहरीमा खबर पुगेको थियो ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा खसेको भेटिएको रिमालले जानकारी दिनुभयो ।

बिहान सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web