
काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी द्रुत गतिमा अगाडी बढाइएको छ ।
आगामी चैत २५ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
सातै प्रदेशका खेलाडीहरूबिच प्रतिस्पर्धा गराउने, विभिन्न प्रदेशका खेलाडीहरूको पहिचान गर्न, खेलाडीहरूको खेल कौशलताको अभिवृद्धि गर्न र प्रदेशका खेलाडीहरूबिच भातृत्व कायम गराउन आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन लगायत सम्पूर्ण खेल चितवनमा र पुरुष फुटबल तथा समापन कार्यक्रम मकवानपुरमा हुने भण्डारीले बताउनुभयो ।
चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने प्रतियोगिताको समापन हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा हुने सदस्यसचिव भण्डारीले बताउनुभयो ।
प्रतियोगितामा महिला/पुरुष तेक्वान्दो, कराँते, बक्सिङ, क्रिकेट, भलिबल, फुटबल, एथ्लेटिक्स र पौडी गरि ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता तथा तालिम शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो ।
प्रतियोगितामा १४६ वटा स्वर्ण पदकको लागि ७ प्रदेशबाट करिब १ हजार ८ सय खेलाडी र प्रशिक्षक सहभागी हुने तथा प्रतियोगिताका लागि करिब ५ सय निर्णायक (रेफ्रि) को सहभागिता रहने उहाँले बताउनुभयो ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता टिमले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । वेस्ट प्लेयरले १० हजार रुपैयाँ प्राप्त गर्ने दुलालले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि करिब १२ करोड लाग्ने अनुमान गरिएकोमा प्रदेश सरकारले ६ करोड विनियोजन गरेको छ ।
25.12¡ÆC