
देवीघाट । डिभिजन वन कार्यालय नुवाकोट र जालपा विकास क्षेत्र विकास समिति देवीघाटको संयुक्त आयोजनामा देवीघाट स्थित जालपादेवी मन्दिरमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

बुधबार देवीघाटमा आयोजित एक दिने वातावरण सम्बन्धी सचेतनामूलक गोष्ठीमा सरोकारवालाहरुको प्रतिबध्दतासगै प्रसिद्ध जालपादेवी जालपा मन्दिर क्षेत्रमा प्लास्टिकको झोलामुक्त अभियान कार्यान्वयनमा ल्याइएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय नुवाकोटले जालपा क्षेत्रको संरक्षण प्रवर्द्वन र प्रचारमा सहयोग पुर्याउने क्रममा गोष्ठीबाट जालपा क्षेत्र विकास समितिसँगको सहकार्यमा जालपा देवी मन्दिर क्षेत्रमा प्लास्टिकको झोलामुक्त बनाउने लक्ष्य अनुरुप मन्दिर परिसरमा फुल तथा पूजा सामग्रीहरू बिक्री गर्दै आएका व्यवसायीहरूको लागि ढक्की र स्थानीय धर्मालम्वीहरुलाई कपडाको झोला प्रदान गरिएको छ ।

मन्दिर परिसरका सातवटा पुजा सामग्री पसललाई १५/१५ बटाको दरले ढक्की र एक सय घरधुरीलाई एक/एक वटा कपडाको झोला बितरण गरिएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख पोखरेलले जानकारी दिनुभयो।

ढक्की र झोला वितरणसँगै क्रमश जालपादेवी मन्दिर परिसरलाई प्लास्टिकको झोला मुक्त बनाउन सकिने लक्ष्यका साथ सरोकारवाला पक्षहरूबाट जनाएको प्रतिबद्धता अनुरुप मन्दिर क्षेत्र सरसफाई र हरियालीतर्फ उन्मुख गराउन सकिने हुने विश्वास गरिएको छ ।

“सरोकारवालाहरूसँगको सहकार्य छलफल अन्तरक्रिया पश्चात जालपादेवी मन्दिर क्षेत्रमा प्लास्टिकको झोलामुक्त बनाउनको लागि डिभिजन वन कार्यालय नुवाकोटले आवश्यक पहल कदमी अघि बढाएको छ ।” डिभिजनल वन अधिकृत रोशना पोखरेलले भन्नुभयो ” वातावरण संरक्षणको लागी जालपा क्षेत्र मन्दिर परिसरमा प्लास्टिकको झोला निषेधित रहेको सन्देश सहित यदि कोही कसैले प्रयोग गरेमा पहिलो पटकको लागि रु ५० जरिवाना लाग्ने लगायतका सन्देशमूलक सामग्रीहरु भित्ते लेखन गरिएको छ ।”
डिभिजन वन कार्यालय नुवाकोटले यसअघि पनि वातावरण संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले मन्दिर परिसरमा विश्रामस्थलसहितका पूर्वधारहरू निर्माण गरेको थियो ।
देवीघाटमा आयोजित वातावरण संरक्षण सम्बन्धी एक दिने गोष्ठीमा डिभिजनल वन कार्यालयका प्रमुख पोखरेल सहित कार्यलयका प्रतिनिधिहरु, जालपा क्षेत्र विकास समितिका अध्यक्ष मानबहादुर डंगोल, विदुर नगरपालिकाको सुवास पाण्डे, वडा नं ५ का वडा सदस्य विनोद चित्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

19.01¡ÆC