
छहरे । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ६ बच्छला माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) दिने विद्यार्थीलाई क्लोजक्याम्प (बन्द शिविर)मा राखिएको छ । विद्यालयले आवाशीय सुविधा सहित आसन्न एसइई परीक्षाको तयारीमा रहेका नौ जना विद्यार्थीको लागी खाना र बस्नको प्रबन्ध सहित क्लोज क्याम्पमा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार विद्यार्थीलाई अध्ययनमा सहज बनाई एसइईमा राम्रो अंक ल्याउनको लागी विषयगत शिक्षक मार्फत सहजिकरणको प्रबन्ध गरिएको छ ।

“विद्यालयमा नै खान र बस्न विद्यालयको आन्तरिक श्रोत सहित सरोकारवालाहरुको सहयोगबाट उपलब्ध गराइएको छ ।” अध्यक्ष अधिकारीले भन्नुभयो “विद्यार्थीलाई नियमित कक्षाको अतिरिक्त बिहान र साँझको समयमा सहजिकरण गर्नको लागी विषयगत शिक्षकलाई जिम्मेवारी दिइएको छ ।”

विद्यार्थीहरुलाई खानाको प्रबन्ध मिलाउन विव्यस अध्यक्ष सन्तोष अधिकारी आफै सक्रिय भएर लाग्नुभएको छ । विद्यालयको आर्थिक श्रोत कम भएको कारण कमभन्दा कम शुल्कमा उनीहरुलाई क्लोजक्याम्पमा राखिएको हो । व्यवस्थापन समिति, विद्यालय परिवार र अभिभावकबीचको समन्वयनमा सञ्चालनमा ल्याइएको क्लोजक्याम्प व्यवस्थित बनाउन तीनवटै पक्ष सक्रिय भएर लागेको प्रधानध्यापक माधवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बिहानदेखि साँझसम्म व्यवस्थापन समितिका अध्यक्षको नेतृत्वमा विद्यार्थीको खानपान मिलाइने गरिएको छ । “समितिका पदाधिकारीहरु तरकारी काट्ने, पकाउने, बाढ्ने गरेर विद्यार्थीको अध्ययनमा खटिएका छौ ।” प्रअ भण्डारीले भन्नुभयो “शिक्षकहरु विद्यार्थीको पढाईमा लाग्नुहुन्छ भने अभिभावकहरु विद्यार्थीको पढाईलाई मनोबल बढाउन आवश्यक सबै सहयोगमा जुट्नुहुन्छ ।

विद्यालय प्रशासनले विद्यार्थीको अध्ययन, उनीहरुको बसोबासको सुरक्षाको लागी सिसिटिभी क्यामरा समेत जडान गरिएको छ । विद्यार्थीको नियमित कार्यतालिका बनाएकाले सोही अनुसार क्लोजक्याम्पमा उनीहरुको अध्ययनको दैनिकी चल्ने शिक्षक हरी थापाले जानकारी दिनुभयो । “विद्यार्थीलाई धेरै अब्बल बनाउनको लागी होइन कि उच्च शिक्षा अध्ययनमा सजिलोसंग उनीहरुको रुचीको विषय पढ्न सक्ने बनाउनको लागी क्लोजक्याम्प राखिएको हो ।” गणित विषयमा एमफिल गर्नुभएका शिक्षक हरी थापाले भन्नुभयो “अन्यत्रका निजी तथा सुविधासम्पन्न सामुदायिक विद्यालयले छात्राबास सञ्चालन गर्दै आइरहेको सन्दर्भमा एसइईलाई लक्षित गरेर पहिलो पटक हामीले क्लोजक्याम्म सुरु गरेका हौ ।”

यो वर्षदेखि कक्षा १० को अध्यापन गराउन सुरु गरेको यस विद्यालयबाट आसन्न एसइई परीक्षामा र्ना जना विद्यार्थीहरु सहभागि हुदैछन् । ती विद्यार्थीहरुको अध्ययनमा विषयगत शिक्षकहरुले जिम्मेवारी बहन गर्दै आउनुभएको छ भने गणित विषयमा शिक्षक थापाले आफ्नो विषयसहित समग्र विषयमा नै नेतृत्व लिएर विद्यार्थीको मनोभावना अनुसार सिकाई सहजिकरण गर्दै आउनुभएको छ ।
अन्य स्थानका विद्यालयले सञ्चालन गर्दै आएको छात्राबास (आवाशीय) सुविधामा त्यसको लागी लाग्ने शुल्क सबै विद्यार्थीसंग उठाएर चलाइएको हुन्छ । तर, बच्छला माविको क्लोजक्याम्प भने अभिभावक, विव्यस र विद्यालयको योगदानमा आधारित भएर एसइईको परीक्षामा विद्यार्थीलाई उच्च मनोबल, त्रासमुक्त वातावरण र उच्च शिक्षामा आफ्नो रुचीको विषय अध्ययनको लागी सोही अनुसारको विषयलाई केन्द्रित गरिएको बताउनुहुन्छ प्रअ भण्डारी । उहाँलाई लेखापाल रामहरि अधिकारीले प्रत्यक्ष रुपमा सहयोग पुराउदै आउनुभएको छ ।

विद्यालयले विद्यार्थीको रुची अनुसारको पढाई सहित अतिरिक्त क्रियाकलापलाई समेत समावेश गराउदै आएको छ । विद्यार्थीहरुलाई रचनात्मक गतिविधिमा समावेश गराउदै उनीहरुको प्रतिभालाई समेत प्रस्फुटन गराउन विद्यालयले सोही अनुसारको सहजिकरण गर्दै आएको प्रअ भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापतर्फ केन्द्रित गराउने क्रममा हालै पञ्चकन्यामा सम्पन्न भएको क्रसकन्ट्री जिल्लास्तरीय प्रतिस्पर्धाको ५ किलोमिटर दौडमा उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सबिना राईले प्रथम स्थान हासिल गर्दै नगद ११ हजार सहित शिल्ड र मेडल समेत प्राप्त गर्नुभएको थियो ।
विद्यार्थीको रचनात्मक र साँस्कृतिक गतिविधिलाई मध्येनजर गर्दै खेलकुद, कलासस्कृति, लेखन तथा अध्ययन प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
22.12¡ÆC