विदुर । नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) को आयोजनामा स्व.धन लामा तामाङ स्मृति तेश्रो एनयुएफसी कप प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
उद्घाटन खेलमा शुभेनियर बोर्डिङ स्कुललाई जेडी बोर्डिङ स्कुलले ४–० गोल अन्तरगले हराएको छ । खेल सुरु भएको १२ मिनेटमा नै शुभेनियर बोर्डिङ स्कुलको तर्फबाट रिन्चेत तामाङले आत्मघाती गोल गरेसगैँ अग्रता लिएको जेडी बोर्डिङ स्कुलले थप तीन गोल दोश्रो हाफमा प्रहार गरेको प्रतियोगिताको संयोजक कबिन्द्र कोइरालाले जानकारी दिनुभयो ।
उहाँको अनुसार खेलको दोश्रो हाफको ६२ मिनेटमा इमन गुरुङ, ६५ मिनेटमा सक्षम घिमिरे र ७५ मिनेटमा इमन गुरुङले अर्को गोल थप गरेसगैँ शुभेनियर बोर्डिङ स्कुललाई जेडी बोर्डिङ स्कुलले ४–० गोल अन्तरगले हराएको हो ।
प्रतियोगिता अन्तरगत शनिबार अर्किड ऐकेडेमी बट्टारले सहिद प्रकाशजंग शाह सँस्कृति मावि देवीघाटसंग प्रतिस्पर्धा गर्ने आयोजक नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) का अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिनुभयो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा शुक्रबार आयोजित उद्घाटन समारोह विदुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले खेल क्षेत्रको लागी जिल्लास्तरीय विद्यालयतहका छात्रा र छात्र समूहबीच प्रतिस्पर्धा गराउन निकै प्रशंसनीय कार्य भएको बताउनुभयो । प्रतियोगिता सञ्चालन र व्यवस्थापन सहित सफलताको शुभकामना दिदै वडाध्यक्ष ढुङ्गेलले आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
स्व.धन लामा तामाङ स्मृति तेश्रो एनयुएफसी कपको प्रतिस्पर्धामा जिल्लाभरबाट दर्ता भएका विभिन्न १६ वटा विद्यालयको छात्र र ६ वटा विद्यालयको छात्रा तर्फको सहभागिता रहेको छ । फागुन ११ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाभरका विभिन्न १७ वटा विद्यालयको प्रतिनिधित्व रहेको छ ।
छात्रतर्फ दुई समूह बनाएर समूह ए र बी दुबैमा समान ८–८ विद्यालय राखिएको छ भने छात्रा तर्फ दर्ता भएका ६ वटा विद्यालयलाई समूह ए र बी मा समान ३–३ वटा विद्यालय राखिएको छ ।
छात्रतर्फ पहिलो हुनेले नगद ३० हजार र दोश्रो हुनेले नगद १५ हजार रुपैयाँ पाउनेछन भने छात्रातर्फ पहिलो हुनेले १५ हजार र दोश्रो हुनेले ७ हजार ५०० रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताको संयोजक कबिन्द्र कोइरालाले जानकारी दिनुभएको छ ।
प्रतियोगिता सञ्चालन अवधिको लागी फुटबल सम्बन्धि फिफाको नियम सहितको आचारसंहिता सहितको २१ बुँदे प्रतियोगिता नियमावली पनि सार्वजनिक गरिएकाले सोही अनुसार पारदर्शी, व्यवस्थित र अनुशासित रुपमा प्रतियोगिता सुरु गरिएकाले सबैपक्षबाट प्रतियोगितालाई सफल बनाउनको लागी प्रतियोगिताका संयोजक कबिन्द्र कोइरालाले अनुरोध गर्नुभयो ।
प्रतियोगितामा फेयर प्लेयर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र प्लेयर अफ दी म्याचको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका सचिव रबिन्द्र भुजेलले जानकारी दिनुभयो ।
20.12¡ÆC