
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताउनु भएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं ।’

समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन ।’
लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री डा. महतले उल्लेख गर्नुभयो । पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको छ । लघु वित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको छ । यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले उल्लेख गर्नुभयो । ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो, सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ । लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’
लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्नुहुँदैन । फाइदा उठाइ हालौं भन्नेहरुलाई निरुत्साहित गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले दुःख सुख गरेर सानो सानो लघु वित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

20.71¡ÆC