
नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या गाउँपालिका-३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन भएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने घ्याङस्वाँरा पार्कलाई केन्द्रमा राखेर पञ्चकन्या पर्यटन प्रवर्द्धन र युवालाई खेलकुदप्रति आकर्षित गर्न पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार गरेको क्रसकन्ट्री दौडअन्तर्गत् महिला ११ किलोमिटर दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन् ।
पञ्चकन्या–२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डबाट दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबाट तेस्रो भएका थिए ।
सोही दुरीको पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरे । पञ्चकन्या-३ का सविन थापा ४७ मिनेट ३३ सेकेन्डबाट दोस्रो र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डबाट तेस्रो भएका थिए । पञ्चकन्या-३ का भोजबहादुर कार्की चौथो र बेलकोटगढीका विमल थापामगर पाँचौं स्थानमा आए ।
महिला र पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या वडा नं. १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सवित्री थापा ३४ मिनेट ३१ सेकेन्डबाट दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । वडा नं. ४ की गौरी सुनुवार चौँथो र अस्मिता तामाङ पाँचौं भए ।
सोही दुरीमा छात्रतर्फ किरण तामाङ २३ मिनेट १३ सेकेन्डबाट पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो भए । वडा ४ का सुदेश तामाङ र युवराज तामाङ क्रमशः चौथो र पाँचौं स्थानमा विजयी भए । शीर्ष तीन स्थानका विजेताले क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए ।
११ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभन्ज्याङमा टुंगिएको थियो । भने ५ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झिँगानेटोल, झगडेभित्ता सोही रुट हुँदै घलेभन्ज्याङ रहेको थियो ।
प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । ७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए ।
प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा रहेको थियो ।
24.12¡ÆC