काठमाडौँ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।
बेनोनीमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । भारतका सचिन दासले सर्वाधिक ९६ रन बनाए । कप्तान उदय शरणले ८१ रन जोडे ।
दक्षिण अफ्रिकाका क्वेना मफाका र ट्रिस्टन लुइसले तीन/तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । उसका लुआन प्रेटोरिअसले ७६ र रिचार्ड सेलेटस्वेनले ६४ रन बनाए ।
भारतका राज लिम्बानीले ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार हुनेछ ।