बिदुर मेयरकप फुटबल आजदेखि सुरु, उद्घाटनमा विदुर र म्यागङ प्रतिस्पर्धा गर्ने

माघ १३, २०८० मा प्रकाशित | 344 views


नुवाकोट । स्थानीयतहको आयोजनामा सञ्चालन हुन लागेको सर्वाधिक पुरस्कार राशी रहेको ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ आजदेखि सुरु हुन लागिरहेको छ । प्रतियोगिताको उद्घाटन बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा आन बिहान ११ बजे नेपाल सरकारको अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महतले गर्न लाग्नुभएको हो । उद्घाटन समारोह पश्चात दिउसोँ १ बजेदेखि हुने उद्घाटन खेलमा आयोजक विदुर नगरपालिका र म्यागङ गाँउपालिका प्र्रतिस्पर्धा गर्ने प्रतियोगिताको आयोजक विदुर नगरपालिका अन्तरगत रहेको नगर खेलकुद विकास समितिमा संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिनुभयो । उहाँको अनुसार उद्घाटनको दिन आज एक मात्र खेल हुने छ ।

दश पालिका सहभागी :
नुवाकोटको विदुर नगरपालिकाको आयोजनामा हुन लागेको सर्वाधिक पुरास्कार राशी रहेको प्रतियोगितामा जिल्लाको दश पालिकाले सहभागिताको लागी नाम दर्ता गराए अनुसार टाइसिट तयार गरिएको छ । जिल्लाको पञ्चकन्या र दुप्चेश्वर बाहेक बाँकी सबै पालिकाले विदुर नगरपालिकाले सिर्जना गरेको फुटबल खेलको विकासको लागी अवसरको रुपमा लिएर प्रतिस्पर्धा गर्न लागिरहेका छन् ।

बिजेताले चार लाख चार हजार पाउने :
नुवाकोट जिल्लामा हालसम्म स्थानीयतहबीचको अन्तरप्रतिस्पर्धामा सर्वाधिक राशी रहेको पुरस्कार सहितको प्रतियोगिता यसवर्ष पहिलो पटक विदुर नगरपालिकाले आयोजना गरेको हो । यस प्रतियोगिताको बिजेताले चारलाख चार हजार ४४४ पाउने छन् । यस्तै दोश्रो हुने पालिकाले २ लाख दुई हजार २२२ रुपैयाँ पाउने छ । यो राशी अहिलेसम्म जिल्लामा फुटबल क्षेत्रको लागी प्रदान गरिने सबैभन्दा राशी रहेको नुवाकोट जिल्ला फुटबल संघले जनाएको छ । विदुर मेयरकप फुटबल प्रतियोगिताको सहआयोजक सहित प्राविधिक पक्षको जिम्मेवारी लिएको संघको नुवाकोट अध्यक्ष देवानारायाण चित्रकारको अनुसार विदुर मेयरकप फुटबल प्रतियोगिताले जिल्लामा फुटबल खेलाडीलाई प्रोत्साहन, नयाँ खेलाडी उत्पादन र खेल मार्फत पर्यटन प्रबद्र्धनमा निकै ठूलो सहयोग पुग्नेछ ।

आकर्षक मैदान तयार :
विदुर मेयरकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेल बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । मैदानलाई व्यवस्थित बनाइएको छ भने दर्शकलाई हेर्नको लागी सहज रुपमा बस्ने ठाँउ बनाइएको छ । प्याराफिट नभएपनि करीब चार हजार दर्शकलाई सहज रुपमा बसेर हेर्नसक्ने व्यावस्था मिलाइएको नुवाकोट जिल्ला फुटबल संघका उपाध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको लागी खेल मैदान राष्ट्रियस्तरको मैदानको रुपमा तयार गरिएको छ । उद्घाटन र समापन समारोहको लागी स्टेज तयार भइसकेको छ भने दर्शकलाई शौचालयको लागी खेल मैदानमा भएका दुईवटा शौचालय सहित नगरपालिकाले घुम्ती शौचालयको समेत प्रबन्ध मिलाएको छ ।

प्रवेश निःशुल्क, घरमै बसेर पनि हेर्न पाइने :
‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ अवलोकनको लागी मैदान पुग्ने दर्शकको लागी प्रवेश निःशुल्क गरिएको छ । निःशुल्क प्रवेशले दर्शक व्यवस्थापनमा समस्या हुने भएकाले शुल्क उठाउने विषयमा छलफल भएपनि विदुरका नगरप्रमुख राजन श्रेष्ठले दर्शकलाई प्रवेश निःशुल्क गर्न र प्रत्यक्ष प्रशारणको समेत व्यवस्था मिलाएर मैदानसम्म पुग्न नसक्ने खेलप्रेमीलाई सहज रुपमा खेल हेर्ने प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।

नगरप्रमुख राजन श्रेष्ठको निर्देशन अनुसार खेल अवलोकनको लागी दर्शकले निःशुल्क प्रवेस पाउने छन् भने विदुर नगरपालिका र जिल्ला फुटबल संघ नुवाकोटको फेसबुक पेज, नुवाकोट अनलाइनको फेसबुक पेज, युट्युब च्यानल लगायतबाट पनि प्रतियोगिताको भिडियो प्रत्यक्ष प्रशारण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web