नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

माघ ३, २०८० मा प्रकाशित | 203 views

काठमाडौँ । यो वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यो वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए।

पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यो वर्ष नदेखिएको र गत वर्ष नदेखिएका ६ प्रजातिको चरा यो वर्ष देखिएको संयोजक चौधरीले बताए। ‘गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यो वर्ष भेटिएनन्’, उनले भने, ‘गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग भेटिएका छन्।

उनका अनुसार पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ। प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय संघ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो। ‘नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको हो’, चौधरीले भने, ‘उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन्।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौली गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो। मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ।

गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक तथ्याङ्क आएको संयोजक चौधरीले जानकारी दिए। ‘यो वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ’, उनले भने, ‘प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको सङ्ख्या घटिरहेको छ।’

साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले बताए। ‘यो वर्ष खोया हाँसको सङ्ख्या विगतको भन्दा ५० प्रतिशतले कमी आएको पाएका छौँ’, उने भने, ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको सङ्ख्यामा कमी आएको हो।’ यो क्षेत्र खोया हाँसको प्रमुख बासस्थानको रूपमा रहेको थियो।

नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ। नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको चौधरीले बताए। ‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्’, चौधरीले भने, ‘यो क्षेत्रमा चखेवा, जलेवा र पानी गौँथली चरा धेरै पाइन्छन्।’

निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा पनि यो वर्ष कमी देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढेको चौधरीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web