काठमाडौँ । ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब (एनपीसी) ले जितेको छ ।
फाइनल खेलमा पहिलो सेट गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई हराउँदै उपाधि जितेको हो ।
एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिस च्याम्पियन बनेको छ । पुलिस क्लबले क्रमशः २५–१९, २५–१८ र २५–२३ मा ३ अङ्क लिन सफल भएको हो ।
एपीएफले भने पहिलो सेट २५–२२ ले जितेर १ अङ्क लिएको थियो । यो जितसँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला समेत लिएको छ ।
उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी व्यक्तिगत पुरस्कारमा पनि पुलिसकै खेलाडीको वर्चस्व रहेको छ ।
पुलिसका मुख्य स्पाईकर रबिन चन्दले सर्वोत्कृष्ट खेलाडी र पहल गहतराज उदयमान खेलाडीको पुरस्कार पाएका छन् ।
यस्तै पुलिसकै इम रानाले उत्कृष्ट सेटर, रबिन नगरकोटीले उत्कृष्ट ब्लकर, भिम गाहा लिवेरो र प्रशिक्षकमा पनि पुलिसकै चन्द्र कुँवर उत्कृष्ट बनेका छन् ।
यस्तै एपीएफका हेमन्त मल्ल उत्कृष्ट स्पाईकर र गन्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिएका छन् । उता आजै भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ ।
आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागीयसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।
25.12¡ÆC