दिनेश अधिकारी अब लेखक पनि, पहिलो उपन्यास ‘जरो’ सार्वजनिक

‘एक दिन उज्यालो छाउला,
मेरो पनि दिन आउला’

पछिल्लो समयको चर्चित गीत ‘म मरेको छैन’ लेखेका दिनेश अधिकारी आफ्नो पहिलो उपन्यास ‘जरो’ लिएर पाठकमाझ आएका छन् । शनिबार थापागाउँस्थित गुरुकुल स्कुल अफ थिएटर (लेखन कुञ्ज हल) मा आयोजित कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले अधिकारीको उपन्यास लोकार्पण गरिन् ।

पुस्तक सार्वजनिक गर्दै उनले सुदूरपश्चिमेली समाजमा अन्तरजातीय प्रेम, विवाह गर्दा दलित समुदायमाथि भएको अन्याय, अत्याचारको कथा ‘जरो’ले उधिनेको बताइन् । दलित समुदायमाथि भइरहेको ज्यादतीलाई उपन्यासमार्फत थप प्रकाश पारिदिएकोमा उनले लेखक अधिकारीप्रति आभार प्रकट गरिन् ।

वक्ता भरतमणि सुवेदीले कथासँगै सरल भाषा पुस्तकको सशक्त पक्ष रहेको बताए । ‘यसबाहेक उपन्यासमा स्थानीय भाषा, लवजको पनि छनक पाइन्छ, यसले दिन खोजेको सामाजिक सन्देश पनि महत्त्वपूर्ण छ’, उनले भने ।
पुस्तकका सम्पादक अमर अधिकारीले उपन्यास ‘जरो’ छुवाछुतविरुद्धको आवाज भएको बताए ।

गायक शिशिर योगीले जगतमा महिला र पुरुषबाहेक अन्य जात नहुने भन्दै विभेदले आक्रोश र अपराध मात्रै जन्माउँछ भन्ने पुस्तकको सन्देश चित्तबुझ्दो रहेको धारणा राखे ।

दङ्गेली लेखक अधिकारीले आफ्नो पुस्तक प्रेम र जातीय विभेदमा आधारित रहेको बताए । कथाको जरो प्रेम भएकाले पुस्तकको नाम ‘जरो’ राखिएको उनको भनाइ थियो । ‘फेरि फेरि कुनै भूगोलमा नवराज विकजस्ता कोही पनि मारिनु नपरोस्, समाजले मानवता नभुलोस् भनेर झकझकाउन मैले यो उपन्यास लेखेको हुँ’, उनले भने ।

अधिकारी लामो समययता सञ्चाकर्ममा सक्रिय छन् । उनले लेखेको उपन्यास ‘जरो’ को मूल्य चार सय रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया

TOP