काठमाडौँ । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नतिरेका चार ठूला उद्योगको लाइन काटिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीवार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । उहाँले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिनुभएलगत्तै प्राधिकरणले हिजो चार उद्योगको लाइन काटिदिएको हो ।
प्राधिकरणका अनुसार, जगदम्बा स्टिल, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ ।
यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ । पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो ।
24.05¡ÆC