तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो

कार्तिक २४, २०८० मा प्रकाशित | 751 views


काठमाडौँ । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तिहार केन्द्रित सामग्रीको कारोबार बढेको छ ।

काठमाण्डाै उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी, मङ्गलबजारलगायत देशका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टीका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्नेको घुइँचो लाग्न थालेको छ ।

यसपालि भाइ मसलाको भाउ १० प्रतिशतसम्मले बढेको नेपाल खुद्रा व्यापार सङ्घका कार्यकारी अध्यक्ष नरेश बाबु शाहीले बताउनुभयो । तिहारमा चाहिने सप्तरङ्गी टीका, पाला, मैनबत्ती, फूलमाला, बिजुली बत्तीलगायतका अरु सामानको भाउ पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् ।

यस्तै, तिहार नजिकिएसँगै किसानलाई फूल टिप्ने चटारो छ । तिहारका लागि मखमली, सयपत्री र गोदावरी फूल टिप्ने तथा माला उनेर बजारमा पठाउन भ्याइनभ्याइ छ । भाइटीकामा मखमली फूलको माला अनिवार्य मानिन्छ भने लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी चाहिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन या पसल, कार्यालय, व्यावसायिकस्थल सिँगार्न सयपत्री फूलको माग उच्च हुने गर्छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले भक्तपुर, चितवन, बर्दियालगायत फूल खेती हुने जिल्लाका किसानले फूल टिप्न र माला बनाउने कामलाई तीव्र पारेका छन् । तिहारलाई फूलको पर्व पनि मानिन्छ ।

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका ठाउँमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको बर्दिया गुलरिया नगरपालिका–३ खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताउनुभयो ।

उत्पादन भएका फूल टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ र काठमाण्डौसम्म नै पठाउने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web