काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
सरकारले विजयादशमी, दीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यति बेला सङ्घीय राजधानी काठमाण्डौमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरू घर जानका लागि टिकट काट्न नयाँ बसपार्कमा जम्मा भएका छन् ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झन्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ वटा टिकट बुकिङ भइसकेको छ ।
असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोशी, मधेस र बाग्मती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय वटा टिकट बुकिङ भएको छ ।
यस्तै असोज २३ गते कोशी, मधेस र बाग्मती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेशका लागि पाँच सय, लुम्बिनी प्रदेशका लागि सात हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशका लागि चार हजार दुई सय वटा टिकट बुकिङ भएको छ ।
सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक गाडीको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ ।
लामो समयदेखि काठमाण्डौदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आउनुभएका बर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउनुहुन्छ । ‘विभिन्न ठाउँमा बाटो बिग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पुर्याउन सकिँदैन’, उहाँले भन्नुभयो ।
काठमाण्डौदेखि दाङसम्म गाडी चलाउँदै आउनुभएका घोराहीका चेतनाथ भट्ट पनि पानीको कारण बाटो खाल्डाखुल्डी हुँदा आउजाउमा समस्या भएको बताउनुहुन्छ । ‘बाटो राम्रो भए यात्रुलाई ओसार्न समस्या हुँदैन, बाटो राम्रो नहुँदा बस चलाउन समस्या भएको छ’, उहाँले भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दशैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । राजमार्ग बिग्रिएका कारण काठमाण्डौ आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन’, उहाँले भन्नुभयो । सरकारले दशैँका लागि देशका सबै क्षेत्रको यातायातका लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।
असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ देखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
यो बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमी काठमाण्डौतर्फको सडक गाडी सञ्चालन गर्न सहज हुने हिसाबले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा यातायात व्यवसायीको सहकार्यमा २४ वटा टिकट बुकिङ काउन्टर थप गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले बताउनुभयो । सङ्घीय राजधानी काठमाण्डौबाट दशैँ मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
19.32¡ÆC