गोसाइँकुण्ड क्षेत्रमा बढ्न थाल्यो तीर्थयात्रीको भिड

भदौ १०, २०८० मा प्रकाशित | 289 views

काठमाडौँ । जनैपूर्णिमाको अवसरमा गोसाईँकुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्रीको भिड बढ्न थालेको छ ।

त्यस्तै आज आइतवार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवम् पूजाआजा र निलाद्री पर्वतमा विराजमान रहनुभएका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन शुरु भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा थर्कुको व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खानाको दरभाउसमेत निर्धारण गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

‘यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको व्यवस्थापन गरेका छौँ,’ डिएमले भन्नुभयो, ‘अन्य आवश्यक सहयोगका लागि स्वयं सेवक परिचालन गरिएको छ ।’

उहाँले यात्रुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक सेवा उपलब्ध गराउने गरी तयारी पूरा भएको जानकारी दिनुभयो ।

विशेष गरी तीर्थ यात्रुलाई लेक लाग्ने समस्या बढी देखिने भएकाले नेपाली सेना चोलाङपाटी र हिमालय उद्धार सङ्घको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको समितिका अध्यक्ष डिएमले बताउनुभयो।

गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गा दशरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिनुभयो ।

जीवनमा एक पटक पुग्नैपर्ने तीर्थ गोसाइँकुण्ड भएको जनाउँदै उहाँले यहाँ पुग्दा प्राकृतिक र धार्मिक दृष्टिले आनन्द प्राप्त हुनुका साथै मनोकामना पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

‘पवित्र तीर्थ गोसाइँकुण्ड समुद्र सहतदेखि १४ हजार एक सय फिटको उचाइमा पर्दछ । यहाँ स्नान गरी पूजाआरधना गर्नाले सबै कार्य सिद्ध हुने धार्मिक मान्यता रहिआएको छ,’ उहाँले भन्नुभयो ।

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको पुरोहित ढकालले बताउनुभयो ।

‘जनैपूर्णिमाका दिन सम्पूर्ण देवदेवता यहाँ बास बस्न आउने धार्मिक विश्वास छ । त्यसैले यस अवसरमा यहाँ मेला लाग्ने गर्दछ,’ उहाँले भन्नुभयो, ‘यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।’

यस वर्ष भदौ १४ गते जनैपूर्णिमा पर्व परेको छ । त्यस दिनसम्म करिब १५ हजार भक्तजनलाई गोसाइँकुण्ड पुर्‍याउने लक्ष्य राखिएको गोसाइँकुण्ड क्षेत्रविकास समितिले जनाएको छ ।

समितिका साथै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारलगायत निकायको सहयोगमा गोसाइँकुण्ड मेला व्यवस्थापन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारीले बताउनुभयो ।

तीर्थयात्रुको सुरक्षार्थ रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि गोसाइँकुण्डसम्म आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिसकिएको बताउँदै उहाँले सम्पूर्ण यात्रुलाई निर्धक्क साथ यात्रा गर्न अनुरोध गर्नुभयो ।

यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यात्रुकाे गाडी व्यवस्थापनका लागि धुञ्चेमा पार्किङस्थल निर्माण गरेको जनाउँदै प्रजिअ अधिकारीले पार्किङस्थल सुरक्षा तथा व्यवस्थापनका लागि पालिकाले स्वयम् सेवक परिचालन गरेको बताउनुभयो ।

कुण्ड क्षेत्र बाग्मती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web