विदेशबाट आउनेका लागि त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष

साउन २८, २०८० मा प्रकाशित | 434 views

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा, टेलिभिजन तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरि बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागिदार हुने गरेका थिए ।

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने व्यवस्था गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार एक्स–रे मेशिनमा पुग्नु अघि नै स्वयम् घोषणाको सुविधा पाउने व्यवस्था गरिएको हो । विदेशबाट नेपाल फर्कने महिला यात्रुले अधिकतम ५० ग्रामसम्म र पुरुष यात्रुले अधिकतम २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । साथै एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन ।

मोबाइलको हकमा भने यात्रु आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरि ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था छ ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमअनुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । यसैगरी पाँच हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web