भारतको उत्तराखण्डमा पहिरोमा परि १३ जना नेपाली बेपत्ता

साउन २०, २०८० मा प्रकाशित
Published at 2023-08-05

192 views

काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशमा रहेको गौरीकुण्डमा गएकाे पहिरोमा परेर कम्तीमा १३ जना नागरिक बेपत्ता भएका छन् । पहिराेमा परेर जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जनासहित कम्तीमा १३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरु हुम्ला र जुम्लाका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोले उनीहरू बसेको होटल बगाएकाे हाे ।

गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको छ । जुम्लाको पातारासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले वडा नम्बर २ र ३ का गरी ११ जना हराएका जानकारी आएको र थप बुझ्ने काम भइरहेको बताउनुभयो ।

जुम्लाकी सांसद कान्तिका सेजुवालले दिल्लीमा रहेको नेपाली दूतावासमा १६ जना नेपाली हराएको जानकारी आएको थाहा भएको र थप पुष्टि गर्ने काम भइरहेको बताउनुभयो ।

यसैबीच गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्थानीय हिलवाणी न्युज पोर्टलले पहिरोमा नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् समन्वयको काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.